हिमाल दैनिक
वर्षातको सुरुवातमै जलमग्न भयो विराटनगर

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान भन्दा केही ढिलागरी सुरु भएको यस वर्षको वर्षातकै सुरुवातमा देशका विभिन्न भागमा डुवान तथा बाढी पहिरोेको प्रकोप पर्न थालेको छ।

मंगलबारदेखि परेको भारी वर्षाका कारण विराटनगर महानगरपालिका क्षेत्रको अधिकांश वडा डुबानमा परेका छन्।
विराटनगर महानगरपालिकाको वडा नं. ९ र १० बाहेकका सबै वडाका घरहरुमा पानी छिरेको विराटनगर महानगरपालिकाको द्रुत प्रतिकार्य टोलीले जनाएको छ।

एकातिर अत्यधिक वर्षा भएको र अर्कोतिर पानीको निकास नहुँदा सडक र घरहरु डुबानमा परेको हो। वडा नं. १२ र १९ मा भने करिब एक सय परिवार विस्थापित भएका छन्।

उनीहरुलाई स्थानीय विद्यालयमा पुनस्र्थापना गरिएको विराटनगर महानगरपालिकाको द्रुत प्रतिकार्य टोलीका संयोजक अर्जुन थपलियाले जानकारी दिए।

थपलियाले अहिले विभिन्न ठाँउमा पानीको निकास खुलाउने कार्य भईरहेको बताए।

मंगलबार बिहान ८ बजेर ४५ मिनेटदेखि बुधवार बिहान ८ बजेर ४५ मिनेटसम्म २४ घण्टामा विराटनगरमा ३ सय ६१ मिलिमिटर पानी परेको छ।  

विराटनगर एयरपोर्टस्थित जलवायु तथा मौसम विज्ञान फिल्ड कार्यालयका मौसम सहायक राजेश झाका अनुसार, विराटनगरमा यस बर्षको मनुसनको सबैभन्दा बढी पानी परेको हो।

बर्षातका कारण कास्की, लमजुङ, ओखलढुङ्गा लगाएतका स्थानमा पहिरो जाँदा जनधनको क्षति भएको छ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update