हिमाल दैनिक
परिक्षा बोर्डद्वारा एसईईको निराशाजनक नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी ननग्रेडिङमा!

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

बिहीबार बिहान बोर्डको बैठक बसेर एसईईको नतिजा सार्वजनिक गरिएको हो। परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

नतिजा अनुसार १८६ जनाले ४ जीपीए ल्याएका छन्।

विगत केही दशक यताकै सबैभन्दा निराशाजनक नतिजा प्रकाशित गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी अर्थात २ लाख ४२ हजार ३१३ जना उत्तीर्ण भएको जानकारी दिए।

उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् भने परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका ल्याएर फेल भएकाछन्। उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ। अध्यक्ष शर्माले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिए।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले २ विषयसम्म ननग्रेड ल्याउने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने जनाएको छ। बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन्।

 

 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update