हिमाल दैनिक
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठ पदमुक्त!

करिब तीन महिनाअघिदेखि सतहमा छताछुल्ल भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी र उनकी श्रीमती एवं पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीचको द्वन्दको परिणाम उक्त पार्टीको संसदीय दलभित्र परेको छ।

विशेषगरी वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा चौधरी र श्रेष्ठबीच भएको विवादका बाबजूद श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुका साथै सुदूरपश्चिम प्रदेश सरकारमा केन्द्रकै गठबन्धन कायम गराउन सफल बनेकी श्रेष्ठलाई सोमबार उक्त दलका बहुमत सदस्यले संसदीय दलको नेताबाट पाखा लगाइदिएपछि नाउपामा चौधरीको पकड बलियो बन्दै गएको छ।

प्रतिनिधि सभामा रहेका चार सांसदमध्ये श्रेष्ठ बाहेक तीन जनाले आइतबार संसद सचिवालयमा दलको बैठक राख्दै संसदीय दलको नेताबाट श्रेष्ठलाई हटाएर दलको नेतामा गंगाराम चौधरीलाई चयन गर्ने निर्णय गरेको छन्।

प्रमुख सचेतक गंगारामलाई दलको नेतामा चयन गरेपछि रिक्त रहन पुगेको प्रमुख सचेतकमा लालबीर चौधरीलाई चयन गरेको नाउपाका तीन सांसदले हस्ताक्षर गरी सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

लालबीर पार्टीका संस्थापक नेता रेशम चौधरीका पिता हुन् जो गत आम निर्वाचनमा बर्दीया २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

नाउपाको संसदीय दलको नेतामा अचानक भएको फेरबदलले उक्त पार्टीले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत कायम रहने सम्भावना क्षिण बनाएको छ। त्यतिमात्र होइन, नाउपाको पछिल्लो निर्णयले अध्यक्ष श्रेष्ठलाई वर्तमान सरकारमा सहभागी भएर मन्त्री बन्ने अवसरमा पनि तगारो लगाइदिएको अनुमान राजनीतिक विश्लेषकहरुको छ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update