हिमाल दैनिक
राजनीतिक स्थायित्वसँगै संविधानको रक्षार्थ एमालेसँग सत्ता साझेदारीताको सहमति भयोः कांग्रेस

नेपाली कांग्रेसले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र संविधान संशोधनमार्फत व्यवस्थाको रक्षाका लागि एमालेसँग सहमति गरिएको जनाएको छ।

नयाँ सरकार गठनका लागि एमालेसँग सहमति भएपछि मंगलबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र राष्ट्रिय सहमतिका साथ संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या समाधान गर्न एमालेसँग सहमति गरिएको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए।

प्रवक्ता महतले राजनीतिक अस्थीरताका कारण लोकतन्त्र नै खतरामा पर्ने सम्भावना भएकाले महत्वपूर्ण मुद्धाहरुमा आम जनतामा रहेको चाँसो र चिन्तालाई केन्द्रमा राखेर कांग्रेस र एमालेबीच सत्ता साझेदारीको समझदारी भएको बताए।

उनले सरकारलाई राष्ट्रिय सहमतिको बनाउने र एमाले अध्यक्ष केपी शर्मा ओली र सभापति देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने भन्दै इच्छुक अन्य दलहरुलाई सरकारमा सामेल गर्ने जानकारी पनि दिए।

अहिलेसम्मको समीक्षा र अनुभवबाट राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन पनि सँगसँगै अघि बढाउने प्रवक्ता महतले बताए।

त्यस्तै प्रवक्ता महतले सभापति देउवा र एमाले अध्यक्ष ओलीले सोमबार राति राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेको र भेटमा संविधान संशोधनको विषयलाई लिएर आयोग बनेको भन्ने कुरामा कुनै सत्यता नभएको दाबी गरे।

यसैबिच पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गरी पार्टीको आधिकारिक निर्णय लिन सभापति देउवाले बुधबार बिहान आफ्नै निवासमा पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

उक्त बैठकले पछिल्लो समय एमालेसँग भएको सहमतिलाई औपचारिकता दिँदै नयाँ सरकार गठनको प्रक्रियामा नेतृत्वलाई आवश्यक निर्णय लिने वैधानिक आधारसहितको अधिकार दिन सक्नेछ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update