हिमाल दैनिक
एमालेको धोकाधडी र षडयन्त्रको डटेर सामना गर्छौँ, प्रधानमन्त्रीले राजीनामा दिनुहुन्नः माओवादी
file photo

नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाउने प्रयास अस्वाभाविक भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले रातारात नयाँ गठबन्धन बनाउने कुरा अप्राकृतिक र अस्वभाविक रहेको भन्दैै प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको हो। कुनै दलले समर्थन फिर्ता लिएपछि पनि विश्वासको मतका लागि एक महिना समय रहने भएकाले तत्कालै प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय भएको माओवादी सचिव देवेन्द्र पौडेलले बताए।

उनले प्रधानमन्त्री दाहालसंगको भेटमा एमाले अध्यक्ष केपी ओलीले एउटा कुरा गरेको र कांग्रेससंग अर्को छलफल गरेको आरोप लगाए।

उनले संसद फेस गरेर विश्वासको मत लिने गरेर अघि बढ्ने र यसका लागि कांग्रेस, एमाले र रास्वपा लगाएतका दलहरुसंग छलफल गर्ने जानकारी पनि दिए।

करिब चार महिनाअघि कांग्रेसलाई पाखा लगाउँदै सत्तासाझेदारी गर्न पुगेका एमाले र यसको नेतृत्वले एकाएक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमति गर्दै नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न थालेपछि आश्चर्य र आक्रोसित बन्न पुगेको माओवादीले एमालेको पछिल्लो कदमलाई षडयन्त्रको संज्ञा दिँदै त्यसको प्रतिवाद नै गर्ने उनले बताए।

संविधान बमोजिम सरकारमा सहभागी दल वा सरकारलाई समर्थनसहित विश्वासको मत दिएको दलले विश्वासको मत फिर्ता लिँदै सत्ताबाट बाहिरिएको अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्दछ।

यस प्रावधानका आधारमा तत्काल नेकपा एमालेले दाहाललाई दिएको विश्वासको मत फिर्ता लिँदै मन्त्रीहरु फिर्ता बोलाएको अवस्थामा पनि तत्काल कांग्रेस र एमालेबीच भएको सहमति बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन सक्दैन। त्यसका लागि प्रधानमन्त्री दाहालले यात विश्वास गुमाएको अवस्थामा नैतिकताको आधारमा पदबाट राजीनामा दिनु पर्छ। नभए, उनले सदनबाट ३० दिनको समयसीमाभित्र विश्वासको मत लिँने प्रस्ताव सदनबाट विफल भएपछि पदमुक्त भएको अवस्थामा मात्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनसक्दछ।

सचिव पौडेलले लोकतन्त्रलाई संस्थागत गर्नका लागि माओवादीले पहल गर्ने जानकारी दिँदै संविधान संशोधन गर्ने बिषयमा पार्टीले बुझ्न बाँकी रहेको भन्दै पछिल्लो परिवर्तन उल्टाउने खेल भइरहेको हो की भन्ने आशंका माओवादीभित्र रहेको जिकिर गरे।

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update