हिमाल दैनिक
खल्तीमा राजीनामा पत्र लिएर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु पत्र नबुझाई फर्किए

संसदीय अंकगणितले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष मन्त्री पदबाट राजीनामा दिने तयारीकासाथ बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले प्रधानमन्त्री दाहालसँगको कुराकानी पश्चात खोल्तीको राजीनामा पत्र खल्तीमै राखेर फर्किएका छन्।

सत्तारुढ नेकपा एमालेले एकाएक नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग नयाँ सत्ता समिकरण बनाउने सहमति गरेपछि सरकार अल्पमतमा परेकाले राजीनामा दिने तयारीका साथ पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेसहित बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्री दाहालसँगको छलफलपछि राजीनामा नदिई फर्किएका हुन्।

प्रधानमन्त्रीसँग बिहिबारको भेटपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टीका मन्त्रीहरुले राजीनामा पत्र नबुझाइ फर्किएको जानकारी दिए।

प्रधानमन्त्री दाहालले सत्ता साझेदार दल एमालेले सरकारलाई दिएको समर्थन र विश्वासको मतसँगै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएपछिको स्थितिमा संविधानको धारा १०० को उपधारा २ बमोजिम संसदमा विश्वासको मतको सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले संसदबाट विश्वासको मत लिने दाबी गर्दै त्यतिबेलासम्म सहयोग गर्न भनेपछि त्यसलाई आफुहरुले सकरात्मक रुपमा लिदैँ राजीनामा नदिइएको प्रमुख सचेतक परियारले बताए।

अहिलेको नयाँ गठबन्धन विश्वास गर्न लाएक नभएकाले आफूहरु नयाँ गठबन्धनमा नजाने भनिसकेकाले प्रधानमन्त्रीको आग्रहलाई सम्मान गर्दै चाँडो संसदको प्रक्रियामा जान सुझाव दिएको पनि उनले बताए।

यसका बाबजूद प्रधानमन्त्री दाहाललाई विश्वासको मत परिक्षणको समयसम्म साथ दिन तयार बनेको रास्वपाले परिस्थिति हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने निर्णय लिने जानकारी उनले बताए।

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री रहेका छन्।

सरकारमा सहभागी भएर पनि सदनदेखि सडकसम्म सरकारको कामकारबाहीको विषयमा विरोधका आवाजहरु उठ्दै गर्दा सरकारकै मन्त्रीका रुपमा रहेका विराजभक्त श्रेष्ठले आफूले जुनसुकै बेला मन्त्री पदबाट राजीनामा दिन सक्ने भन्दै राजीनामा पत्र खल्तीमा बोकेर हिँडिरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिदै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update