हिमाल दैनिक
आफ्नै कारणले विश्वास गुमाइसकेका प्रधानमन्त्री दाहालले राजीनामा दिए राम्रोः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्ट रुपमा अल्पमतमा परिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजिनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिएका छन्।

बिहिबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले संविधान अनुसार विश्वासको मत लिने अधिकार प्रधानमन्त्रीलाई भएपनि अल्पमतमा परेपछि प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका हुन्।

सत्ता साझेदार दल नेकपा एमालेसँग पछिल्लो समय कांग्रेस सभापति शेरबहादुृर देउवाले नयाँ सत्ता समिकरणको सहमति गरेसँगै उठेका समावेशी र समानुपातिक प्रतिनिधित्व लगायतका विषयका साथै संघियतालाई कार्यान्वयन गर्न संविधान संसोधनको विषयमा महामन्त्री थापाले सहमति जनाउँदै संशोधन गर्नुपर्ने आवश्यकता विगत ७ वर्षमा सबैले महसुस गरेकाले संविधान संसोधन गर्न लागिएको बताए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई थप परिमार्जित र परिष्कृत गरेर अझै मजबुत बनाउने उद्देश्यले नेपाली कांग्रेस र एमालेबीच नयाँ सहकार्य शुरु गरिएको पनि बताए।

त्यस्तै थापाले एमालेसंगको नयाँ गठबन्धन बनाईसकेपछि पनि प्रधानमन्त्री दाहालको अस्थिर चरित्रका कारण उनको नेतृत्वको सरकार ढलेको दाबी गरे।

संविधान संसोधनका लागि नेपाली कांग्रेस र एमालेका संख्याले मात्र नपुग्ने भएकाले अन्य दलहरु सहितको राष्ट्रिय सहमतिको सरकार बनाउने उनको भनाइ छ।

गत फागुन २१ गते प्रधानमन्त्री दाहालले कांग्रेसलाई सत्ताबाट पाखा लगाउँदै एमाले र रास्वपा लगायतसँग सत्तासाझेदारी गरेर कांग्रेसलाई विपक्षमा पुर्याइदिएपछि महामन्त्री थापाले ०८४ मा हुने आम निर्वाचनसम्मको अवधिमा कांग्रेस सत्तातिर आँखा नलागाई सशक्त र जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्दै आगामी निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्नेगरी अघि बढ्ने बताउँदै आएका थिए।

तर, सभापति शेरबहादुर देउवाले पार्टीका अन्य पदाधिकारी तथा नेताहरुमध्ये कसैलाई कुनै सुइँको समेत नदिई एमालेसँग नयाँ सत्ता समिकरणको सहमति गर्न पुगेका थिए। जसको बारेमा अन्य पदाधिकारी र नेताहरुले समेत सममतिको अन्तिम क्षणमा मात्रै मिडियामार्फत जानकारी पाएका थिए।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update