हिमाल दैनिक
विश्वासको मत नदिने निर्णय गरेको एमालेद्वारा प्रधानमन्त्री दाहाललाई राजीनामा दिन सुझाव

नेकपा एमाले संसदीय दलले नयाँ सरकार गठनका लागि मार्गप्रस्तस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गरेको छ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले वर्तमान सरकार अल्पमतमा परिसकेको भन्दै मार्गप्रसस्त गर्न प्रधानमन्त्री दाहाललाई अनुरोध गर्ने निर्णय गरेको हो।

बैठकले सदनमा प्रधानमन्त्री दाहालले लिने विश्वासको मतको बिपक्षमा मत दिने निर्णय पनि गरेको छ।

बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त गर्न आग्रह गरेको जानकारी दिए।

गत फागुन २१ गते बनेको नयाँ सत्तागठबन्धनको मुख्य घटक नेकपा एमालेले केही दिनअघि एकाएक प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेससँग सत्ता गठबन्धनको सहमति गरेलगत्तै सत्ताबाट एमाले बाहिरिएपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ।

यसका बाबजूद प्रधानमन्त्री दाहालले सत्ता हस्तान्तरण गर्नुको सट्टा असार २८ गते सदनबाट विश्वासको मत परिक्षणको प्रक्रियामा अघि बढेका छन्।

अहिले सरकारले बिभिन्न निर्णय गरिरहेको भन्दै अल्पमतमा परेको सरकारले दीर्घकालीन असर पुग्ने निर्णय गर्ने हैसियत नराख्ने उनले बताए।

बैठकले संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिको अनुमोदन गरेको उनले बताए।

बर्तौलाले कांग्रेस र एमाले मिलेर संविधानको धारा ७६ (२) बमोजिम राष्ट्रिय सरकार बन्ने भन्दै संविधानलाई भ्रमणपूर्ण ढंगबाट व्याख्या गर्न खोजिएको जिकिर गरे।

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update