हिमाल दैनिक
कमल थापाको शैलीमा एमालेले आफैँ सवार डुङ्गामा प्वाल पारेर भाग्योः माओवादी सांसद

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस–एमालेबीच भएको सहमतिप्रति आशंका व्यक्त गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सापकोटाले दुई दलहरुबीचको सहमति अपारदर्शी भएको र यसले स्थीरता नदिने पार्टीको निष्कर्ष रहेको भन्दै उक्त सहमति प्रति आशंका व्यक्त गरे।

संसदमा तेस्रो स्थानमा रहेर पनि विगत डेढबर्षदेखि सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद सापकोटाले सत्ताको चाबी खोसिने स्थिति आएपछि संविधान र संसदीय अभ्यासको स्मरण गर्दै सामान्यतय पहिलो दलले सत्ताको नेतृत्व गर्ने र दोस्रो ठूलो दल प्रतिपक्षमा वेटिङ गभर्नमेन्टका रुपमा रहनु पर्ने भएपनि त्यो अभ्यास सुरुदेखि नै भत्किएको बताए।

कांग्रेस र एमालेबीच पछिल्लो समय भएको सहमतिको विषयमा प्रश्न उठाउँदै उनले सदनमा छलफल भइरहदा पनि दुई दलबीच भएका सहमति बाहिर नआएको र मिडिया ट्रयाल भइरहेको आरोप लगाए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणबाट फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापतिलाई भेटेर राष्ट्रिय सहमतिको सरकार निर्माणको विषयमा कुरा गरेर फेरि एमालेलाई पाखा लगाउने र सत्ता टिकाइरहने दाउमा लागेको आरोप एमालेले लगाएपछि त्यसको प्रतिवाद गर्दै सांसद सापकोटाले प्रधानमन्त्रीले कुनै त्यस्तो प्रस्ताव नराखेकोे दाबी गर्दै नपत्याएर यसबारे सभापति देउवा, ओली र दाहाल बसेर कुरा स्पष्ट पार्न चुनौति दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष ओलीबीच केही दिनअघि भएको वार्ताबारे कटाक्ष गर्दै उनले दिनभर प्रधानमन्त्रीसंग छलफल गर्ने र अर्का नेताहरुलाई कांग्रेससंग सहमति गर्न व्यक्तिको घरमा पठाउने कामले नैतिकताप्रति पनि प्रश्न उठेको दाबी गरे।

कांग्रेस र एमालेबीचको सहमतिको कारण अरु केही नभएर भूटानी शरणार्थीको फाइल खोल्ने र बेचन झाको पक्राउले नै बेचैन हुदै एमालेले कुनै समयमा कमल थापाकै शैलीमा आफैँ सवार डुङ्गा प्वाल पारेर भागेको आरोप लगाए।

बहुचर्चित गिरीबन्ध टि–स्टेटको जग्गा प्रकरणमा मुछिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विषयमा कटाक्ष गर्दै उनले गिरीबन्धु प्रकरणका आत्तिएर समिकरण परिवर्तन गर्ने दलले माओवादीलाई नैतिकताको पाठ सिकाउन नमिल्ने जिकिर गरे।

उनले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिन सक्ने व्यवस्था संविधानमा रहेको भन्दै प्रधानमन्त्रीले संविधानमा रहेको व्यवस्थालाई पालना गर्ने स्पष्टिकरण दिए।

सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले सरकार बनाउने दाबी गर्दै त्यस्तो अवस्थामा कांग्रेससँग एमालेले गरेको सहमतिकै भरमा एमाले नेतृत्वको सरकार बन्न नसक्ने दाबी गरे।

साथै उनले दुई दलबीच भएको संविधान संशोधनको सहमतिको प्रस्ताव प्रतिनिधि सभाबाट तानुतुन पारेर  दुइतिहाईको बहुमतले पारित गराएपनि यथास्थितिमा राष्ट्रिय सभाबाट पारित गराउन असम्भव रहेको दाबी गरे।

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update