हिमाल दैनिक
प्रधानमन्त्री दाहालले असार २८ गते सदनमा विश्वासको मत परिक्षण गराउँदै

सत्ता साझेदार दल नेकपा एमालेले एकाएक नेपाली कांग्रेससँग सत्ता गठबन्धनको सहमति गर्दै सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले करिब डेढ वर्षको अवधिमै पाँचौ पटक सदनबाट विश्वासको मत लिने तयारी गरेका छन्।

गत फागुन २१ गतेको सहमति तोड्दै नयाँ गठबन्धनको प्रक्रियामा अग्रसर रहेको एमालेले आफ्ना मन्त्रीहरुलाई समेत सरकारबाट फिर्ता बोलाएपछि सदनमा स्पष्ट रुपमा अल्पमतमा पर्न पुगेका दाहालले संविधानको धारा १०० को उपधारा २ बमोजिम असार २८ गते विश्वासको मत परिक्षण गर्न संसद सचिवालयमा पत्र पठाएका थिए।

यसबारे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आइतबार सदनलाई जानकारी दिँदै असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिनेबारे सूचना पढेर जानकारीी दिए।

०७९ मंसिरमा सम्पन्न आम निर्वाचन लगत्तै पुस ११ गते नयाँ सरकारको नेतृत्व गर्न पुगेका दाहालले त्यसको दुई महिना पुग्न नपाउँदै गठबन्धनमा सहभागी दलको अदलाबदली गर्दै दोस्रो पटक विश्वासको मत लिएका थिए।

त्यसपछि सरकारको निरन्तरता दिँदै आएका दाहालले गत फागुनमा कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्न पुगेपछि पुनः सदनबाट विश्वासको मत परिक्षण गराएका थिए। त्यसको केही दिनमै सत्तासाझेदार दल जनता समाजवादी पार्टी नेपालको विभाजन प्रक्रियामा सहयोगीको भूमिका निर्वाह गरेको आरोप लागेका दाहालले उपेन्द्र यादवको दलको समर्थन फिर्ता पश्चात जेठ ७ गते पनि विश्वासको ेमत लिएका थिए।

यसरी डेढ वर्षको अवधिमै कहिले एमाले त कहिले कांग्रेसको वैशाखीमा चार पटक विश्वासको मत परिक्षण गर्दै र सफलताका साथ उत्तिर्ण हुँदै आएका प्रधानमन्त्री दाहाल कांग्रेस र एमाले दुबैको साथ गुमाउँदा आगामी असार २८ गतेको परिक्षणमा भने नराम्रोसँग अल्पमतमा पर्ने निश्चित छ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update