हिमाल दैनिक
विपद व्यवस्थापनको स्थायी समाधान खोज्न सांसद न्यौपानेको आग्रह

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सदियौँदेखि देश र जनताले भोग्दै आएको बाढी, पहिरो र विपद वितण्डाको दीर्घकालीन समाधान खोज्न राज्यले स्थायी समाधानको उपाय खोज्न सरकारसँग आग्रह गरेकी छिन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै कांग्रेस नेतृ न्यौपानेले विपदको स्थायी समाधान खोज्दै विपद आउनु अघि नै त्यसको रोकथामको उपाय खोज्न पनि सुझाव दिएकी हुन्।

पछिल्लो समय सत्ता परिवर्तनको राजनीतिक खेल सुरुभएसँगै मन्त्री पदबाट राजीनामा दिन बालुवाटार पुगेका नेकपा एमालेका मन्त्रीहरुसँगको भटेमा प्रधानमन्त्री पुष्पकमल दाहालले फत्तेमानको गीतको अन्तरा गाएर सुनाएको समाचार सार्वजनिक भएसँगै सुरु भएको सांगीतिक क्रमले संसदभित्र पनि सत्ता र प्रतिपक्षी दलका सांसदहरुबिच व्यंग्यात्मक शैलीमा घोचपेचको क्रम जारी छ।

यही क्रममा सांसद न्यौपानले पनि पद्यात्मक शैलीमा मुलुकको अस्थिर राजनीतिक अवस्थाप्रति पनि कटाक्ष गरिन। उनले कविता बाचनको शैलीमा अस्थिर सत्ता र सरकारको यथार्थ तस्विर चित्रण गर्दै भनिन्, ‘बजेटको सिद्धानत र प्राथमिकता एउटाको, बजेट प्रस्तुती अर्कोको अनि कार्यान्वयन फेरि अर्कैले, चार महिनाभित्र घेटका यी घटना मेरो देशको आजको चित्र हो यो।’

दलहरुको ध्यान सरकार बनाउने र बचाउनेमै केन्द्रित रहँदा मुलुक र जनताले भोग्दै आएका बाढी, पहिरो र विपदको पीडा सुनाउने स्थायी ठाउँ नभएको भन्दै गुनासो गरिन्।

यसैगरी कैलालीको भजनी नगरपालिकामा मध्य वर्षादको समयमा सुकुम्बासी बस्तीमा राज्यले ड्रोजर चलाएर जनतालाई थप समस्यामा पारेको भन्दै उनले वास्तविक सुकुम्बासीको पहिचान गरी उचित व्यवस्थापनको उपाय खोज्न सरकारसँग आग्रह गरिन्।  

सांसद ईश्वरी न्यौपानेले मंगलबारको शून्य समयमा व्यक्त धारणाः

सभामुख महोदय
बजेटको सिद्धान्त र प्राथमिकता एउटाको
बजेट प्रस्तुती अर्कोको अनि
कार्यान्वयन फेरि अर्कैले
चार महिना भित्र घटेका यी घटना
मेरो देशको आजको चित्र हो यो
सरकार बचाउने र बनाउने
सम्मुर्ण ध्यान त्यसमै छ
कस्लाई सुनाउ मनसुनी बितण्डा
त्यसले बनाएको अस्तव्यस्त जनजिवन
उद्धार कस्ले र कसरी गर्ने
मेरो क्षेत्र पुरै डुवानमा छ
बर्षादमा समुद्र माथी घर
सडक र पाल मुनीको बास
घर भित्र पानीले सबै स्वाहा
पेट भर्न चिउरा र चाउचाउको आस
टिकापुर भजनी जोशिपुर जानकी
सधैको यो पीडा,भोगाइ र नियती
बाढी आउँछ बितण्डा मचाउछ जान्छ
क्षणभरमै सबै तहस नहस बनाउछ
सरकार सँग मेरो अनुरोध छ
अब त स्थायी समाधान खोजौ
बिपद आउनु अगाडि नै त्यो बिपद रोकौ।
सभामुख महोदय
प्राकृतिक प्रकोप त छदैछ,त्यसैमा यो मध्य बर्षादमा भजनि नगरपालिकामा बसोबास गरेका सुकुम्बासीहरुको घरमा  डोजर चलाईयो भनेर डाको छोडेर रुदै राज्यलाई गुहारीरहेकाछन,वास्तविक सुकुम्बासीको पहिचान गरि उचित व्यवस्थापनको लागि समेत अनुरोध गर्दछु।

 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update