हिमाल दैनिक
बाढी, पहिरो र डुबान समस्याको क्षतिबारे सदनलाई जानकारी गराउन सांसदहरुको माग

सांसदहरुले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको क्षतिबारे सदनमा जानकारी गराउन सरकारसंग माग गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकको आकस्मीक समयमा बोल्दै उनीहरुले प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि काम गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा कांग्रेसका मुख्य सचेतक रमेश लेखकले अविरल वर्षाकाकारण देशभर भएको जनधनको क्षति र सरकारले गरेका कामबारे सदनलाई जानकारी गराउन माग गरे। उनले सदनमा मन्त्री, प्रधानमन्त्रीको उपस्थिति नभएको भन्दै उनले जति दिन सरकार रहेपनि सदनप्रति उत्तरदायी हुनुपर्ने जिकिर गरे।

त्यस्तै कांग्रेस नेता एवं सांसद एनपी साउदले समक्ष पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि माग गरे।

उनले महेन्द्र राजमार्ग अवरुद्ध भएको बताउँदै बाढी नियन्त्रण गर्न सरकार सजग रहनुपर्ने उल्लेख गरे। तटबन्ध निर्माणमा सरकारले ध्यान नदिएको टिप्पणी गर्दै उनले धेरै नदीहरुले बस्तीमै ठूलो असर गरेको भन्दै राज्यले बाढी पीडितहरुको राहत र उद्दारका लागि सरकार गम्भीर हुन आग्रह गरे।

सांसद महेन्द्रराय यादवले अविरल वर्षाले देशभर बाढीपहिरो, डुबानको ठूलो असर परेको बताउँदै तराई र सर्लाहीमा धेरै ठूलो क्षति भएको जानकारी गराए।

उनले कांग्रेस र एमालेबीच समीकरण र संविधान संशोधनमा  सहमति भएका उल्लेख गर्दै संविधान संशोधन गर्दा सर्वपक्षीय छलफल गरेर मात्र गर्न आग्रह गरे।

माओवादी सांसद पूर्णबहादुर घर्तीमगरले पहिरो जाँदा रुकुममा धेरै धनजनको क्षति भएको जानकारी गराउँदै बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र पुनस्थापनको माग गरे। साथै घाइतेहरुको उपचारको माग गर्दै उनीहरुको शीघ्रस्वास्थय लाभको कामना गरे।

 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update