हिमाल दैनिक
रास्वपा महामन्त्री मुकुल ढकालविरुद्ध रविको डण्डा, पदबाट बर्खास्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिले सभापति रवि लामिछानेको नेतृत्व र कार्यशैलीविरुद्ध प्रश्न उठाउने महामन्त्री मुकुल ढकाललाई पार्टी महामन्त्री र प्रवक्ताको पदबाट बर्खास्त गरी कारबाहीको डण्डा चलाएको छ।

पार्टी कार्यालय बनस्थलीमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले यसअघिको बैठकमा अराजनीतिक व्यवहार गरेको सन्दर्भमा ढकाललाई निलम्वन गरिएको अवस्थामा अनुशासन समितिको प्रतिवेदनका आधारमा पदबाट बर्खास्त गर्ने निर्णय गरिएको सह–प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा अनुशासन समितिको प्रतिवेदनका बारेमा विस्तृत छलफल भएको र प्रतिवेदनको सिफारिस अनुसार पार्टीको विधान धारा ५६ उपधारा ३ बमोजिम पार्टीको साधारण सदस्य कायम राखि महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको उनले बताए।

उनले केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावदेनका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको जानकारी दिए।

उनले ढकालको स्पष्टीकरण विधि प्रक्रिया बिपरित रहेको ठहर प्रतिवेदनमा उल्लेख गरिएको जिकिर गरे।

ढकालले केही समयअघि देशका विभिन्न जिल्लाको भ्रमण गरी तयार पारेको प्रतिवेदनमा पार्टी नेतृत्वको गलत रवैयाको कारण भर्खरै राजनीतिमा स्थापित हुँदैगरेको रास्वपाप्रति जनविश्वास घट्दै गएको भन्दै ‘सच्चिने कि सक्किने’ भनि प्रश्न गरेका थिए।

उनको प्रतिवेदन पार्टी नेतृत्वले बुझ्न अस्विकार गर्दै केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेपछि ढकालले केही दिनअघिको पार्टी बैठकमा मुखमा माक्सबाहिर कालो टेप लगाएर विरोध जनाएका थिए।

त्यसलगत्तै पार्टी नेतृत्वले ढकालविरुद्ध अनुशासन विपरित कार्य गरेको भन्दै पदबाट निलम्बन गर्दै अनुशासन समितिलाई ढकालको विषयमा प्रतिवेदन दिन निर्देशन दिएको थियो।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update