हिमाल दैनिक
विश्वासको मत परिक्षणका लागि प्रधानमन्त्री दाहाल संसदमा

सत्ता समिकरणमा आएको फेरबदलसँगै प्रष्टरुपमा अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत परिक्षणका लागि प्रतिनिधि सभामा पुगेका छन्।

गत फागुन २१ गते सत्ता साझेदार बन्न पुगेको नेकपा एमालेले असार १७ गते नेपाली कांग्रेससँग नयाँ सत्ता समिकरणको सहमति गरेसँगै सरकारलाई दिएको समर्थन फिर्तालिएपछि अल्पमतमा परेका दाहालले संविधानको धारा १०० को उपधारा २ बमोजिम सदनबाट विश्वासको मत लिने निर्णय गरेपश्चात सभामुख देवराज घिमिरेले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत परिक्षणको कार्यसूचि राखेका छन्।

यसका लागि आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री दाहाल आफ्नो सत्ता सहयात्री दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी पार्टी लगायतका दलका सदस्यहरुको साथमा सदनमा उपस्थित छन्।

सभामुख घिमिरेले आजको बैठकको सुरुवातमा आजै बिहान मात्रै अविरल वर्षातका कारण चितवनमा भएको बस दुर्घटना लगायत देशका विभिन्न भागमा भएको बाढी, पहिरोले भएको धनजनको क्षतिबारे सांसदहरुले विशेष समय लिएर बोल्दै छन्।

त्यसपछि सभामुखले आजै प्रधानमन्त्रीको पत्र बमोजिम सदनबाट विश्वासको मत परिक्षण गर्ने छन्।

रवि लामिछानेको रास्वपा र सत्तारुढ नेकपा एकीकृत समाजवादीले पक्षमा मत दिने निर्णयसँगै २७५ सदस्यीय संसदमा सम्भवत् ६३ सांसदको समर्थन देखाउन प्रधानमन्त्री दाहाल तयार रहेका छन्।

आजको संसदमा प्रधानमन्त्री दाहालले विश्वासको मत गुमाएलगत्तै सभामुखले उक्त जानकारी राष्ट्रपति कार्यालयमा पठाउने छन्। त्यसपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने तयारी छ। जसमा नेपाली कांग्रेस र नेकपा एमालेका सदस्यहरुको हस्ताक्षरसहित आजै प्रधानमन्त्री पदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी पत्र पेश गर्ने तयारी भइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update