हिमाल दैनिक
अविरल वर्षातले निम्त्याएको विपदप्रति देउवाको ध्यानाकर्षण
file photo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनदेखि सुरु भएको अविरल वर्षातका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो, डुबाल र सडक दुर्घटनाबाट सर्वसाधारणमा पर्न गएको असरबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

विषेशगरी आजै बिहान मात्रै चितवनको नारायणगढ—मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुबै बस त्रिशुली नदीमा खस्दा वेपत्ता भएका यात्रुहरुको विषयमा प्रेस विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति देउवाले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

देउवाले विपदबाट पीडित सर्वसाधारहरुको युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न समेत सभापति देउवाले सरकारलाई आग्रह गरेका छन्।

बाढी पहिरोको जोखिम थप बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीन वटै तहका सरकारहरूलाई समन्वय र ब्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारीका साथ कार्य गर्न सभापति देउवाले अपील समेत गरेका छन्।

देउवाले स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिइसकेको बताउँदै पार्टीका सदस्यहरुलाई ब्यवस्थित ढंगले प्रभावकारी रुपमा कार्य गर्न पनि आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबैमा अपील गरेका छन्।

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update