हिमाल दैनिक
सत्ताबाट बाहिरिनुपूर्व संसदमा दाहालको आक्रोसः सुशासनको भयले कांग्रेस–एमाले मिल्न गए

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा सुशासन कायम हुने डरले कांग्रेस–एमाले गठबन्धन बनेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारको ध्यान मुलुकको समृद्धि र सुशासनका केन्द्रीत भएको र मुलुकमा सुशासन हुने भय र डरले कांग्रेस–एमाले गठबन्धन बनेको दाबी गरे।

०७९ पुस ११ मा नेकपा एमालेसँग सहमति गरी सत्तारोहण गर्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले त्यसको दुई महिनामै नेपाली कांग्रेसँग सहमति गर्दै सत्ता साझेदार दलको अदलाबदली गरेको एक वर्ष नपुग्दै गत फागुन २१ मा पुनः एमालेसँग सत्ता सगठबन्धन अघि बढाएका दाहाललाई असार १७ गते एमालेले साथ छाडेपछि अल्पमतमा पर्न पुगेका थिए।

संसदमा अल्पमतमा परेपछि सम्भवत् आज÷भोलिमै बालुवाटारबाट खुमलटार फिर्ता हुन लागेका दाहालले एमालेको सत्ता समिकरणको बदलावबाट आक्रोसित हुन पुगेका दाहालले रहस्यमय ढंगले संविधानमा छेडखानी गर्ने प्रयास भएको र कांग्रेस–एमाले गठबन्धन प्रतिगमनतर्फ उन्मुख रहेको आरोप पनि लगाए। साथै उनले आफू सत्ताबाट बाहिरिँदै गर्दा कुनै यति, ओम्नी र गिरीबन्धु चिया बगान जस्ता विवादस्पद काण्डमा नपरी सत्ता संचालन गर्न सकेको दाबी गरे।

कांग्रेस र एमाले नेतृत्वबिच मध्यरातमा भएको सहमतिप्रति आशंका व्यक्त गर्दै उनले नियत सफा भए दुई ठूला दल मिल्न बन्द कोठा र मध्यरात चाहिन्छ भन्दै प्रश्न गरे।

दाहालले दुई दललाई कसले मिलाएको हो भन्ने प्रष्ट भएको भन्दै राष्ट्रिय सहमतिको नाममा जनतालाई गुमराहमा राख्न खोजिएको दाबी गरे।

आफू अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेकाहरुले आफुलाई नैतिकताको पाठ पढाउने प्रयास गरेको भन्दै दाहालले एमाले र एमाले निकट मानिएका दलका नेतोलाई व्यंग्य गरे।

उनले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने दाबी पनि गरे।

उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको भन्दै उनले आउने दिनमा पनि त्यसरी नै बचाइने प्रतिबद्धता व्यक्त गरे।

दाहालले वस्तुतः सरकारको सफलता नै सरकार ढाल्ने बिडम्वना बन्न पुगेको जिकिर गरे।

उनले बिभिन्न प्रकरणको अनुसन्धानलाई सक्रिय रुपमा अघि बढाउन खोज्दा अहिलेको परिस्थीति सिर्जना भएको समेत दाबी गर्दै विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको उल्लेख गदैे दलहरूलाई पारदर्शी राजनीति गर्न सुझाव दिए।

दाहालले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे।

उनले जनताले शक्ति देखाउने बेला आएको भन्दै जनताले शक्ति नदेखाए देश अप्ठेरो अवस्थामा जाने उल्लेख गरे।

दाहालले बालुवाटारबाट सिंहदरबारको शासन चलाउने गलत परम्परा तोडेको भन्दै आफ्नो नेतृत्वको सरकार राम्रो अंकका साथ उर्तिण भएको दावी गरे।

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update