हिमाल दैनिक
प्रधानमन्त्री दाहालले घण्टौँ लगाएर गाली गर्दा पनि सुनेको नसुनै गरे देउवा र ओलीले

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा व्यक्त गरेको आक्रोस, कुण्ठा र आरोपयुक्त भाषणको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले पूरै वेवास्ता गरिदिएका छन्।  

चार महिना पुरानो सत्ता गठबन्धन तोड्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नयाँ सहमति गर्दै दाहाललाई दिएको समर्थन फिर्तालएसँगै अल्पमतमा परेका दाहालले शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उक्त सहमतिप्रति गम्भीर आपत्ति प्रकट गरेपनि दाहालको अभिव्यक्तिप्रति प्रमुख दलका शीर्ष नेताहरुले वेवास्ता गरिदिएका हुन्।

विगतका संसदीय अभ्यास र प्रचलनमा प्रधानमन्त्रीले विश्वासको मत परिक्षणका लागि राखेको प्रस्तावको पक्षमा रहने दलसँगै प्रमुख विपक्षमा रहेका दलका शीर्ष नेताहरुले नै पक्ष वा विपक्षमा मत राख्दै बचाउ वा प्रतिवादमा उत्रिने गर्दथे।

तर, आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले झण्डै १ घण्टा २५ मिनेट लामो सम्बोधन गर्दैगर्दा आफ्नो कुर्सीमा बसेर सुनिरहेका कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीमध्ये दुबैले दाहालको प्रस्तावको पक्ष वा विपक्षमा कुनै प्रतिक्रिया नदिई पार्टीका तेस्रो, चौथो तहका नेतालाई जवाफका लागि खटाए।

फलस्वरुप, सभापति देउवाको सट्टा कांग्रेसका मुख्य सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालको प्रस्तावसँगै उनले राखेका अभिव्यक्तिको प्रतिवाद गर्न सदनमा उभिए।

प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा उभिन पुगेका कांग्रेसका मुख्य सचेतक लेखकले त सम्बोधनको सुरुवातमै सत्ता बहिर्गमनको पीडा र दुःखले छट्पटिँदै गरेका दाहाललाई पीडामा रहेको बेला थप पीडा दिन नचाहेको बताए।

प्रधानमन्त्री दाहालले राखेका अधिकांश विचार र धारणाप्रति आफ्नो विमति रहेको बताउँदै लेखकले भने, ‘प्रधानमन्त्रीले राखेका कुनै विषयको खण्डनमण्डन, प्रतिवाद, प्रतिउत्तर केही पनि गर्ने पक्षमा छैन। किन भने यसले थप कटुता मात्रै पैदा गर्छ।’

सत्ता र पद गुमाउँदै गर्दा पीडाबोधले व्यक्त गरेको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले थपे, ‘पीडामा भएको व्यक्तिमाथि थप टिप्पणी गर्नु भनेको झन पीडा थप्नु जस्तै हो।’

त्यसैगरी संसदमा कुनै पनि बेला पक्ष वा विपक्षमा उभिएर आफ्ना विरोधीहरुलाई उखान, टुक्का र चुट्किलायुक्त भाषणमार्फत विपक्षी दल र त्यसका नेतालाई खुइल्याउन पोख्न नेताका रुपमा परिचित दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आजको बैठकमा कुनै प्रतिक्रिया दिएनन्।

ओलीले कहिले कम्युनिष्ट वामपन्थीहरुको एकताको लोलिपप देखाएर स्वर्ग, नर्क सँगै जाने षडयन्त्रपूर्ण कुरा गरेर झुक्याइएको भन्दै दाहालले चर्को आलोचना गरेपनि ओलीले त्यसको कुनै प्रतिवाद नगरी पार्टीका नेता योगेश भट्टराईलाई प्रस्तावको विपक्षमा बोल्न लगाए।

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update