हिमाल दैनिक
पाँचौ पटकमा विश्वासको मत प्राप्त गर्न असफल भएपछि ढल्यो दाहाल नेतृत्वको सरकार

गत आम निर्वाचन लगत्तै ०७९ पुस ११ गते गठबन्धन सरकारको नेतृत्व गर्दै पटक पटक सदनबाट विश्वासको मत प्राप्त गर्न सफल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल पाँचौ पल्टमा भने विफल भएका छन्।

कहिले दोस्रो ठूलो दल नेकपा एमालेसहितका स–साना दलको समर्थन लिएर त कहिले एमालेलाई छाड्दै नेपाली कांग्रेससहितका दलको समर्थनमा त कहिले पुनः एमालेको समर्थन र कहिले सरकारमै सहभागी साना दलले समर्थन फिर्ता लिएपछि संविधान बमोजिम विश्वासको मत लिँदै सत्तामा रहिरहन सफल दाहाल शुक्रबार भने कांग्रेस, एमालेसहितका दलको कारण अल्पमतमा परे।

विशेषगरी पछिल्लो पटक फागुन २१ गते एकाएक कांग्रेसलाई पाखा लगाउँदै एमालेसहितका दलको समर्थनमा सत्ता गठबन्धन चलाउँदै आएका दाहालसँग असन्तुष्ट बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एकाएकाएक कांग्रेस सभापति शेरबहादुर देउवासँग असार १७ गते सत्ता साझेदारीको सहमति गर्दै दाहाललाई दिएको विश्वासको मत फिर्ता गरेपछि अल्पमतमा परेको दाहालले आजको प्रतिनिधि सभा बैठकमा संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत माग्ने प्रस्ताव राखेका थिए।

झण्डै ६ घण्टा लामो प्रधानमन्त्री दाहाल र अन्य दलका नेताहरुको जुहारी पश्चात सम्पन्न मत विभाजन प्रक्रियामा दाहालको प्रस्ताव भारी बहुमतले अस्विकृत भएपछि दाहाल नेतृत्वको सरकार ढलेको छ।

विगत १८ महिनाको अवधिमा दाहालले आज राखेको विश्वासको मत माग्ने प्रस्ताव पाँचौ हो। जुन, कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जसपा, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका सदस्यले विपक्षमा मत दिएपछि दाहालको सत्ता बहिर्गमन हुन पुगेको हो।

आजको मत विभाजनको परिणाम सार्वजनिक गर्दै सभामुख देवराज घिमिरेले आजको मत विभाजन प्रक्रियामा कुल उपस्थित सदस्य संख्या २५८ मध्ये बहुमत सदस्य अर्थात १९४ जनाले दाहालको प्रस्तावको विपक्षमा मत दिएपछि दाहालले विश्वासको मत गुमाएको घोषणा गरे।

दाहालको पक्षमा उनको दलसँगै सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, सांसद प्रभु साह लगायत ६३ जनाले मत दिएका थिए।

दाहालले राखेको प्रस्तावको पक्ष वा विपक्ष कतैपनि मत दिन्न भनि नेमकिपाका प्रेम सुवाल तटस्थ रहेको जानकारी सभामुख घिमिरेले दिए।

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update