हिमाल दैनिक
राजनीतिमा बचनको पक्का र इमान्दारिताको पर्याय बन्दै देउवा

नेपाली कांग्रेसभित्र आफूलाई रुपान्तरणको पक्षपाती र उदयमान युवा भन्न रुचाउने नेतादेखि उनीहरुको पक्षमा उभिएका केन्द्रदेखि तल्लो तहसम्मका नेतादेखि कार्यकर्ताले पार्टीभित्र सबै भन्दा ज्यादा कसैको आलोचना गर्दछन् भने, त्यो नाम हो सभापति शेरबहादुर देउवा।

विशेषगरी संस्थापन इतर पक्षका एकाध नेता, कार्यकर्ता बाहेक सबैले चिया, चमेनागृहदेखि सार्वजनिक सभा, सामाजिक सञ्जालमा देउवाको नेतृत्व क्षमता, कार्यशैली र व्यवहारको जति आलोचना गर्न समय र शक्ति लगाउँछन् अरु विपक्षी दलका नेताहरुको बारेमा बोल्न त्यति समय विरलै खर्चेलान्।

जसको कारण कांग्रेसका समर्थक र मतदातादेखि आम जनतामाझमा समेत देउवाप्रति सकारात्मक कम, नकारात्मक धारणा ज्यादा छाएको तथ्य नौलो होइन।

नेपाली राजनीतिमा ५० को दशकदेखि सधैँभरी आलोचनाको केन्द्रमा रहँदै मात्र होइन, पटक पटक राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित हुँदै देशको प्रधानमन्त्री बन्न सफल देउवाप्रतिको धारणामा बदलाब ल्याउन आवश्यक भाष्य निर्माणका लागि उनको दलसँगै उनी वरिपरी रहेर पाएसम्म स्वार्थ सिद्ध गर्न पोख्त नेता, कार्यकर्ताले पनि खासै समय पाउँदैनन् अथवा भ्याएका थिएनन् होला।

तर, पछिल्लो समय त्यही चर्को आलोचनाको केन्द्रमा रहँदै आएका देउवा संसदभित्रका विपक्षी दल र तिनका नेताहरुमाझ भने प्रशंसाको पात्र बन्दैछन्।

विषेशगरी राष्ट्रिय राजनीतिमा देखिँदै गएको सत्ता परिवर्तनको खेल र त्यसमा संलग्न प्रमुख राजनीतिक दलका नेताहरुको जालझेलपूर्ण गतिविधिका कारण विगत केही समयदेखि सदनभित्र र बाहिर देउवाको व्यक्तिगत स्वभाव र चरित्रको मुक्तकण्ठले प्रशंसा गर्न पनि पछि पर्दैनन्।

चाहे, गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहालले देउवालाई धोका दिँदै अचानक नेकपा एमाले लगायतका दलसँग सत्ता साझेदारीको सहमति गर्दै कांग्रेसलाई प्रतिपक्षमा पुर्याएपछि संसदभित्र दाहालसँगै अन्य सांसदहरुले व्यक्त गरेको धारणामा होस् वा पछिल्लो समय नेकपा एमाले अध्यक्ष ओली र देउवाबिचको सत्ता साझेदारीको सहमति पश्चातको परिदृश्य।

यी दुबै घटनाक्रममा संसदभित्रका राजनीतिक दल र तिनका नेताहरुले जति समय एकअर्काप्रति आलोचना र टिकाटिप्पणी गर्न खर्चिएका छन्, त्यही अनुपातमा देउवाको राजनीतिक इमान्दारिता र बचनबद्धताको प्रशंसामा समय दिएका छन्।

यत्तिसम्म कि स्वयं देउवाको साथ र समर्थन ओलीलाई मिलेको कारण सत्ता गुमाउँदै गरेका प्रधानमन्त्री दाहाल समेतले शुक्रबारको प्रतिनिधि सभा बैठकमा देउवालाईं सोझो र छलकपट केही नगर्ने, ढाँट्न नजान्ने नेताको रुपमा चित्रण गरे।

दाहालले करिब १ घण्टा २५ मिनेटको समय लगाएर एमाले पार्टी र यसको नेतृत्वप्रति चर्को आलोचना गरिरहँदा कांग्रेसप्रति सहानुभूति नै प्रकट गर्न भ्याए।

असार १७ गते कांग्रेस र एमालेबीचको सहमति पश्चात बालुवाटारमा आफूलाई भेट्न पुगेका ओलीले सहमतिबारे ढाँटेपनि देउवालाई फोन गर्दा सबै कुरा भइसकेको भनि सत्य कुरा नढाँटी बोलेको भन्दै देउवाको बचनबद्धताको प्रशंसा नै गरे।

एमाले अध्यक्ष ओलीको छलकपट र षडयन्त्र बुझ्न नसक्दा अहिले आफू ०७९ पुस १० गते आफूले ओलीसँग सत्ता साझेदारीको सहमति गरेपश्चात सभापति देउवाकै स्थितिमा रहेको बताए।

यसका अतिरिक्त आजको बैठकमा दाहालले राखेको विश्वासको मतको पक्षमा मत दिने पार्टी निर्णय सुनाउन रोष्ट्रममा पुगेका नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणी चौधरीले पनि देउवाको राजनीतिक इमान्दारिताको प्रशंसा गरे।

दाहाललाई सान्त्वना दिँदै सांसद चौधरीले अरु जेसुकै भएपनि कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध नविगार्नु होला, सन्तुलनमा राख्नु होला, किन कि चार महिनापछि सत्ता तपाईकै हातमा आउँछ भन्न समेत भ्याए।

त्यसैगरी केही दिनअघि मात्र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि देउवालाई जस्तो बचनको पक्का इमान्दार नेतालाई धोका दिएर ओलीसँग सत्ता साझेदारी गर्न गएकै दिन दाहाललाई दशा लागेर तीन बल्र्याङ खाएको प्रतिक्रिया दिएका थिए।

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update