हिमाल दैनिक
नवनियुक्त प्रधानमन्त्री ओलीले सपथ लिँदा १२ बज्यो!

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपरान्ह १२ बजे पद तथा गोपनियताको सपथ लिएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन भत्काउँदै नेपाली कांग्रेससँगको नयाँ गठबन्धन बनाएका एमाले अध्यक्ष ओलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएका हुन्।

डेढ वर्षअघि सरकारको नेतृत्व गर्न पुगेका दाहालले असार २८ गते प्रतिनिधि सभाको विश्वास गुमाएर पदमुक्त भएपछि एमाले अध्यक्ष ओलीले शुक्रबार नै कांग्रेससहितका बहुमत सदस्यको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउँदै आफूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा नियुक्तिको दाबी पेश गरेका थिए।

राष्ट्रपति पौडेलले शुक्रबार नै प्रधानमन्त्री पदको दाबीका लागि आब्हान गरे लगत्तै ओलीले बुझाएको दाबी पत्र अनुसार, राष्ट्रपतिले आइतबार साँझ ओलीलाई देशको नयाँ प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए।

आज बिहान ११ बजेको आसपासमा पद तथा गोपनियताको सपथ लिने तयारीमा रहेका ओलीले गठबन्धनमा रहेको कांग्रेससँगको सत्ता साझेदारी तथा पद बाँडफाँटसँगै मन्त्रीहरुको चयनमा केही विलम्ब हुन पुगेपछि आजको सपथ ग्रहण केही लम्बिएर ठिक १२ बज्दा सुरु भएको थियो।

नेपाली परम्परा अनुसार, अपरान्ह १२ बजेको समयलाई अशुभ बेलाको रुपमा लिने गरिन्छ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update