हिमाल दैनिक
प्रम ओलीद्वारा मन्त्रिमण्डल गठन, दुई उपप्रधानमन्त्रीसँगै मन्त्रीहरु को को बने?

नयाँ सरकारको नेतृत्व लिँदै पद तथा गोपनीयताको सपथ लिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन्।

विगतका चलन र परम्परालाई अन्त्य गर्दै एमाले अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलका तर्फबाट सहभागी हुने सबै सदस्यहरुको नाम एकसाथ राष्ट्रपति कार्यालयमा बुझाएपछि सोमबार अपरान्ह नवनियुक्त उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलका अतिरिक्त अन्य मन्त्रीहरुले पनि राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्।

सत्ता साझेदार दल नेपाली कांग्रेसका १० जना र एमालेका ८ जना मन्त्रीका अतिरिक्त अशोक राईको पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीसहित २२ जनाको मन्त्रिण्डलका सदस्यले आज सपथ लिएका हुन्।
यसरी सपथ लिने कांग्रेसका सदस्यहरुमा पार्टीका पूर्व महामन्त्री सिंह उपप्रधान तथा शहरी विकास मन्त्रीमा नियुक्त भएका छन् भने संसदीय दलका मुख्य सचेतक रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसैगरी सहमहामन्त्री बद्र पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आरजु राणा देउवा परराष्ट्र, प्रदिप पौडेल स्वास्थ्य तथा जनसंख्या, अजय चौरसिया कानून, न्याय तथा संसदीय मामिला, तेजुलाल चौधरी युवा तथा खेलकूद, दीपक खड्का उर्जा, रामनाथ अधिकारी कृषि र ऐनबहादुर शाहीले वन मन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री ओलीको दल एमालका तर्फबाट उपप्रधान तथा अर्थमन्त्रीमा पौडेल, संचार तथा सूचना प्रविधि मन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्। यसैगरी बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात, विद्या भट्टराई शिक्षा, मानवीर राई रक्षा तथा राजकुमार गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी लोसपा नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र अशोक राईको जसपाबाट प्रदिप यादवलाई खानेपानी तथा नवलकिशोर साह सुडी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update