हिमाल दैनिक
१५ वर्षअघि रिसाएर हिँडेका सिंह बल्ल भए देउवासँग प्रफुल्ल!

कुनै समयमा पार्टीभित्रको आन्तरिक विवाद र गुटबन्दी चरमउत्कर्षमा पुग्दैगर्दा शेरबहादुर देउवाको बलियो सारथी जस्तै बनेर हिँड्ने नेताहरुको अग्रपंक्तिमा उभिनेमध्ये एक थिए, कांग्रेस नेता प्रकाशमान सिंह।

तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र उनको समूहसँग बिद्रोह गर्दै नेपाली कांग्रेस प्रजातन्त्रिकको गठनदेखि त्यसको संगठन विस्तारमा देउवालाई साथ दिँदै र विपक्षीसँग भिड्दै गरेका नेता सिंह पहिलो संविधान सभाको निर्वाचन पश्चात तत्कालीन नेकपा एमाले महासचिव माधवकुमार नेपाल नेतृत्वको मन्त्रिमण्डल गठनपछि भने देउवासँग एकाएक टाढिए।

त्यसको मुख्य कारण थियो, नेपाल नेतृत्वको मन्त्रिमण्डलमा कांग्रेसको तर्फबाट नेतृत्व गर्दै कोइरालापुत्री सुजाताको प्रवेश र नेता देउवाको मौन समर्थन।

तत्कालीन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको विघटन पश्चात कांग्रेस र एमाले गठबन्धनमा बनेको नेपाल नेतृत्वको सरकारमा पार्टीको नेतृत्व गर्दै नेता सिंह जान चाहन्थे।

यसका लागि उनले पूर्व सभापति गिरिजासँग बलियो अडान लिएर सुजाताको सट्टा आफूलाई उपप्रधानमन्त्रीका रुपमा सरकारमा पठाउँने कार्यमा सघाउन दबाब दिएका थिए।

तर, ०५९ मा पार्टीभित्रको विवादका कारण कांग्रेस पार्टी नै विभाजन गरी नयाँ दल बनाएपनि ०६४ निर्वाचनपूर्व एकीकरण गर्न पुगेका देउवाले तत्कालीन सभापति कोइरालासँग थप विवाद चर्काउन चाहेनन्।

त्यतिबेला नेता सिंहको दबाबका बाबजूद पनि कोइरालाको निर्णय प्रक्रियामा मौन समर्थन जनाएका देउवाले आफू निकटस्थ नेताहरुसँग भन्ने गर्दथे, ‘कि मैले गिरिजाबाबुसँग ०५२÷०५३ सालदेखि निरन्तर पार्टीभित्र जुध्दै आएँ र पार्टी विभाजनको स्थितिसम्म निम्तियो। अब उमेरले पनि जीवनको उत्तरार्धमा पुग्दै गरेका बाबु सरहका नेता गिरिजाबाबुसँग थप झगडा गर्न म चाहन्न। उहाँले मन्त्रिमण्डलमा छोरी सुजातालाई पठाउँछु भनिसकेपछि यसमा धेरै किचोलो गरिराख्दिन।’

देउवाको उक्त अडानका कारण अन्ततः नेपाल नेतृत्वको सरकारको परराष्ट्र मन्त्रीका रुपमा सुजाताको नियुक्ति भयो। त्यसपछि मन्त्रिमण्डलमा सहभागी हुने आफ्नो आकांक्षालाई खरानी बनाइदिएको महसुस गर्दै आक्रोसित बनेका नेता सिंहले देउवाको साथ छाड्दै सुशील कोइरालासँग नजिकिन पुगे। अन्ततः कांग्रेसको १२औं अधिवेशनमा सुशील कोइरालालाई सभापतिमा समर्थन जनाउँदै उनैको समूहबाट पार्टी महामन्त्रीमा निर्वाचित पनि भए।

त्यसपछिका दिनमा नेता सिंहले सभापति कोइराला समूहको बलियो खम्बाका रुपमा सक्रिय भूमिका मात्र निर्वाह गरेनन्, १३औं अधिवेशनमा देउवाविरुद्ध सभापतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलको सारथी सरहकै भूमिकामा देखिए। यसका बाबजूद सभापतिमा देउवा निर्वाचित भए।

पार्टीभित्रको गुटगत राजनीतिमा ०७८ सालसम्मै देउवाको विरोधी खेमाको नेताका रुपमा परिचित सिंहले १४औँ अधिवेशनमा भने सभापति देउवाविरुद्ध बेग्लै टिम बनाएर चुनावी मैदानमा उत्रिए। कोइराला समूहका नामले परिचित गुटभित्र तिब्र विवाद देखियो। तथापि पहिलो चरणको निर्वाचनमा कुनै पनि नेताले ५० प्रतिशत भन्दा ज्यादा मत प्राप्त गर्न नसकेपछि सभापतिका लागि देउवा र शेखर कोइराला अन्तिम भिडन्त भयो।

जसमा नेता सिंहले कोइरालाको सट्टा देउवालाई समर्थन गर्न तयार भएपछि १३ वर्षअघि चिस्सिएको सम्बन्धमा केही परिवर्तन भयो। ०७९ को निर्वाचन लगत्तै पार्टी संसदीय दलको नेताको चुनावमा पनि सिंहले महामन्त्री गगनकुमार थापाको सट्टा सभापति देउवालाई नै समर्थन जनाए र देउवा दलको नेता चुनिए पनि।

त्यसपछिका दिनमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेससँगको सत्ता गठबन्धन भत्काएर एमालेसँग सत्ता गठबन्धन बनाएपनि केही महिनाभित्रै दाहालले पुनः कांग्रेससँगको सत्ता गठबन्धनमा फर्किएपछि पनि नेता सिंहको सरकारमा सहभागी हुने जिजीबिसा कायमै थियो।

तर, त्यतिबेला उपसभापति पूर्णबहादुर खड्काले सरकारमा सहभागी हुने चाहना देखाएपछि सिंहको पालो आउनै सकेन।

पछिल्लो समय गत फागुन २१ मा दाहालले कांग्रेसको सट्टा एमालेसँग सत्ता गठबन्धन गर्न पुगेपछि विपक्षमा थन्किन पुगेको कांग्रेसका अधिकांश नेता, कार्यकर्तालाई लागेको थियो होला कि अब ०८४ को निर्वाचन अगाडि कांग्रेसको सत्तामा पुनरागमन असम्भव प्रायः नै छ।

तर, सभापति देउवाको एमाले अध्यक्ष ओलीसँग चलाखीपूर्ण र गोप्य वार्ताले मध्य असारमा सार्थकता पाएसँगै दाहाल नेतृत्वको सत्ता गठबन्धन भत्कियो र एमाले–कांग्रेसको नयाँ गठबन्धन निर्माण हुन पुग्यो।

जसमा असार २८ गतेको प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले विश्वासको मत गुमाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम कांग्रेससहितको समर्थनमा एमाले अध्यक्ष ओलीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरे।

सोमबार पद तथा गोपनीयताको सपथ लिनुअघि सत्ता साझेदार दल कांग्रेस र एमाले लगायतका साना दलबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको सूचि टुंगो लगाएर अपरान्ह हुँदा नहुँदै ओली आफूसँगै अन्य मन्त्रीहरुलाई पनि पद तथा गोपनीयताको सपथ दिलाए।

जसमा कांग्रेसकोे तर्फबाट सभापति देउवाले नेता सिंहलाई मन्त्रिमण्डलमा ओलीपछि दोस्रो वरियतामा रहनेगरी उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्रीमा नियुक्तिको सिफारिस गराए।

पछिल्लो समय स्वास्थ्य समस्याका कारण नयाँ दिल्ली पुगेर स्वास्थ्य उपचार गरि फर्किएका नेता सिंहलाई केही दिनअघि चाक्सीबारीस्थित निवासमा भेट्न पुगेका सभापति देउवाले सरकारमा पठाउने बचन दिएर फर्किएसँगै यसपटक सिंहको मन्त्री हुने सम्भावना बलियो बन्न पुगेको थियो।

नेपालको पछिल्लो राजनीतिक वृत्तमा बचनको पक्का नेताका रुपमा परिचित देउवाले पार्टीको तर्फबाट उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्रीमा सिंहलाई सिफारिस गरेसँगै आजै नेता सिंहले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ मात्र लिएनन्। करिब १५ वर्षअघि जुन विषयमा देउवासँग मतभेद राख्दै अलग समूहमा रहेर कतिपय अवस्थामा सत्रुतापूर्ण व्यवहार गर्न समेत पछि पर्दैनथे, उनै सिंहलाई आज देउवाले सरकारमा पठाएर पुरानो कटुतालाई बिर्सन बाध्य बनाइदिए।

अब मन्त्री सिंहको देउवाप्रतिको वैरभाव त सकियो होला। तर, उनको राजनीतिक जीवनको उत्तरार्धमा मन्त्रीका हैसियतले सफलताको शीखर चुम्ने अथवा असफल भएर ढिलो चाँडो घर फर्किने, यसको सम्पूर्ण भार सिंहकै सोच, कार्यशैली र व्यक्तिगत कार्यक्षमतामा निर्भर गर्नेछ।

 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update