हिमाल दैनिक
गृहमन्त्री लेखकको पहिलो निर्णयः सिमलताल बस दुर्घटनाको अध्ययन गर्न समिति गठन

नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमतालमा भएको बस दुर्घटनाको विषयमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेसहितको नयाँ गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै विस्तार भएको मन्त्रिमण्डलमा गृहमन्त्रीमा नियुक्त भएका लेखकले सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा सिमताल घटनाको अध्ययन गर्नका लागि सहसचिव छवि रिजालको नेतृत्वमा समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।

त्यस्तै उनले नेपाल प्रहरीको अपराध नियन्त्रण कार्ययोजना समेत स्वीकृत गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

सो क्रममा गृहमन्त्री लेखकले प्राकृतिक प्रकोपका कारण देशभरमा भइरहेको जनधनको क्षति रोक्नका लागि ध्यान केन्द्रीत गर्ने बताए।

उनले बाढीपहिरो प्रभावित क्षेत्रहरूमा प्रभावकारी काम गर्नका लागि आवश्यक कार्ययोजना बनाएर नै अघि बढ्ने जानकारी दिए।

मन्त्री लेखकले विधिको शासन, शान्ति सुरक्षा, अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्ने जानकारी पनि दिए।

सरकारको प्राथमिकता राजनीतिक स्थीरता, भ्रष्टाचार नियन्त्रण सुशासन, अर्थतन्त्रको समस्या समाधानमा केन्द्रित रहने भनाई मन्त्री लेखकको छ।

उनले अहिलको व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि संविधान समिक्षा गर्दै संशोधनका लागि पहल गरिने धारणा पनि राखे।

गत फागुन २१ मा बनेको नेकपा माओवादी केन्द्र र एमालेसहितको सत्ता गठबन्धनले निरन्तरता पाउन नसकेपछि संसदीय गणितमा अल्पमतमा परेका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई विस्थापित गर्दै एमाले अध्यक्ष ओली देशको ४५औँ प्रधानमन्त्रीमा आइतबार नियुक्त भएका थिए।

सत्ता साझेदार दलहरुका तर्फबाट समेत एकै लटमा २२ जनाको मन्त्रिमण्डल गठन गरेका ओलीले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिँदै मन्त्रिमण्डलका सदस्यहरुलाई पनि नियुक्ति र पद तथा गोपनीयताको सपथ दिलाएका थिए।

 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update