हिमाल दैनिक
ओली सरकारको पहिलो निर्णयः विपद पीडितलाई राहत दिने, क्रिकेट रंगशालाको स्तरोन्नती गर्ने

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलको पहिलो बैठकले बाढि पहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई राहत उपलव्ध गराउने निर्णय गरेको छ।

नेकपा एमाले अध्यक्ष ओलीले सोमबार अपरान्ह राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै गठन भएको मन्त्रिमण्डलका सदस्यहरुसहित साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले बाढि पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरुको परिवारलाई राहत उपलव्ध गराउने निर्णय गरेको हो।

बिपद्का कारण बेपत्ता भइ घटना घटेको १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलव्ध गराउने निर्णय पनि बैठकले गरेको छ।

मन्त्रिपरिषद बैठकले २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त बनाउने अर्को निर्णय गरेको छ।

यसैगरी कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार फ्लडलाइट जडान र प्याराफिट निर्माण कार्य तीन सय दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको सरकारका प्रवक्ता नवनियुक्त संचारमन्त्री पृथ्वीसुव्वा गुरुङले जानकारी दिए।

बैठकले परिवर्तित समयलाई मध्यनजर गर्दै मन्त्रिपरिषद तथा मन्त्रिपरिषदका बिभिन्न समितिहरुमा प्रक्रियामा रहेका वा प्रक्रिया नलगिएका सम्पूर्ण प्रस्तावहरु सम्बन्धीत मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको उनले बताए।

त्यस्तै बैठकले जाजरकोट भूकम्प प्रभावितहरुलाई दोश्रो र तेश्रो किस्ता उपलव्ध निर्णय गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव लिलादेवी गर्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवादी दिने निर्णय भएको प्रवक्ता गुरुङले बताए।

बैठकमा प्रधानमन्त्री केपी ओलीले मन्त्रालयबीच समन्वयका साथ अघि बढ्न निर्देशन दिनुका साथै एक महिनाभित्र केहि फरक देखाउने गरि काम गर्न पनि मन्त्रीहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता गुरुङले जानकारी दिए।

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update