हिमाल दैनिक
फुटपाथ विस्तारको विरोधमा स्थानीयवासीहरु न्यूरोडमा उत्रिए

काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारको काम पुनः सुरुभएसंगै स्थानीयहरुले विरोध गरेका छन्।
काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तार गर्न नहुने भन्दै स्थानीयहरुले शुक्रबार विरोध गरेका हुन्।

केही समयअघि महानगरले सुरु गरेको फुटपाथ विस्तार योजनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतको सडक विभागले असहमति जनाउँदै महानगरको काम रोकेपछि उक्त विषय अदालतमा पुगेको थियो।

उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरले बुधबारदेखि पुनः काम सुरु गरेको थियो।

तर, स्थानीयहरुले नयाँ सडक बचार्औ, न्युरो साघुरो गर्न पाइदैन भन्दै विरोध जनाउँदै सडकमा उत्रिएका हुन्।

स्थानीयहरुको विरोधपछि ठूलो संख्यामा नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो। काठमाडौं महानगर वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले स्थानीयको साथ लिएर मात्रै विकास निर्माण काम गर्नुपर्ने भन्दै दमन स्वीकार्य नहुने बताए।

उनले वडा नंवर २४ मा गरिएको फुटपाथ विस्तारको कामलाई दशैसम्म परिक्षणको रुपमा हेर्नुपर्ने र त्यसपछि सकारात्मक देखिमात्रै २२ वडामा विस्तार गर्न सुझाव दिए। उनले जनतालाई दमन गरेर घेरावन्दीमा विकासको काम गर्न नहुने जिकिर गरे।

यसअघि काठमाडौँ महानगरले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे काटेको थियो। त्यसपछि  सडक डिभिजन कार्यालयले हस्तक्षेप गरी महानगरले काटेको कालोपत्रे टालेको थियो। सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरले उच्च अदालत पाटनमा रिट दिएको थियो। त्यसपछि उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएसंगै महानगरले काम सुरु गरेको हो।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update