हिमाल दैनिक
उपसभामुख रानाले दूतावासलाई लेखेको पत्रले संसद दोहोरी

उपसभामुख इन्दिरा रानाले असम्बन्धित व्यक्तिलाई भिसाका लागि अमेरिकी दूतावासलाई लेखेको पत्रका बिषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरुबीच आरोप–प्रत्यारोप भएको छ।

आइतबार बसेको बैठकमा सत्तारुढ दलका सांसदहरुले दूतावासलाई लेखेको पत्रका बिषयमा छानविन हुनुपर्ने माग राखेको छ भने रानाको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले उपसभामुख पदका लागि अनावश्यक मिडिया ट्रयाल गर्न खोजिएको आरोप लगाएको छ।

बैठक सुरुभएपछि कांग्रेस सांसद रामहरि खतिवडाले उक्त बिषयमा छानविन गर्नुपर्ने माग गर्दै राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाव दिए।

उपसभामुखले संसद र संसद सचिवालयसँग कुनै साइनो नभएका पाँच जना व्यक्तिलाई उपसभामुखको नाममा रानाले दूतावासलाई भिसाका लागि पत्र लेखेको घटना लेनदेनका आधारमा गर्न खोजिएको मानवतस्करीको घटनाको आशंका समेत गरे।

त्यसपछि बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले अमेरिकी दूतावासलाई लेखेको पत्रका बिषयमा मिडिया ट्रयाल भइरहेको भन्दै आपत्ती जनाइन्।

उनले मानवतस्करी जस्तो गम्भीर आरोप उपसभामुखलाई लगाउनु उचित नभएको बताइन्।

उनले निष्पक्ष अनुसन्धानका लागि छानविन गर्न रास्वपा तयार रहेको जिकिर गर्दै उपसभामुखको पद सत्तापक्षलाई चाहिएको भए दिन तयार रहेको तर कसैको चरित्र हत्या भने गर्न नपाउने दाबी गरिन्।

त्यस्तै एमाले सांसद दामोदर पौंडेल वैरागीले नियतवस नै उपसभामुखले भिसाका लागि पत्र लेखेको भन्दै सदनले उपसभामुखको जवाफ खोजेको बताए।

उनले सो प्रकरणमा लेनदेन नै रहेको दावी गरे।

उनले लेनलेनको बिषय जोगाउनका लागि रास्वपाको बिज्ञप्ती पनि आपत्तीजनक रहेको भन्दै उपसभामुखका बिषयमा संसदीय छानविन समिति गठन गर्न माग गरे।

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update