हिमाल दैनिक
बंगलादेशबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता हुने क्रम सुरु

बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनका कारण समस्यामा परेका केहि नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका छन्।

बंगलादेशमा जारी प्रर्दशन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका केहि विद्यार्थीहरुले सुरक्षाको आशंका गर्दै नेपाल सरकारसँग स्वदेश फिर्ताको व्यवस्था मिलाइदिन गरेको आग्रह पश्चात सरकारी पहलमा आइतबार बिहान स्वदेश फकिएका हुन्।

नेपाल सरकार र यसको नेतृत्वको कुटनीतिक पहल पश्चात नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेसंगै स्वदेश फर्कन इच्छुक विद्यार्थीहरु नेपाल फर्कन थालेका हुन्।

स्वदेश फर्र्किएका डेल्टा मेडिकल कलेजका विद्यार्थी दिलिपा सापकोटाले बंगलादेशमा कफ्र्युका बाबजुद एम्वुलेन्सबाट विमानस्थल पुगेर नेपाल फर्किएको बताए।

उनले बंगलादेशको अवस्था हिंसात्मक रहेकाले नेपालीहरुलाई सुरक्षित राख्नुपर्ने र नेपाली दूतावासलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिए।

त्यस्तै एमविविएस पढ्नका लागि दुई महिनाअघि मात्रै बंगलादेश गएकी इनाम मेडिकल कलेजकी विद्यार्थी सदिक्षा बस्नेतले आन्दोलनमा सहभागी विद्यार्थीलाई खोज्न राती राती मान्छेहरु आउने गरेकाले थप त्रसित भएको जानकारी दिइन्।

उनले आन्दोलनरत क्षेत्रमा इन्टरनेट सेवा समेत अवरुद्ध भएको अवस्था सहज नभएको उल्लेख गरिन्।

यसअघि नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै अत्यावश्यकवाहेक बाहिर ननिस्किने विद्यार्थीलाई सूचित गर्दै आवश्यक सहयोगका लागि सम्पर्क गर्न भनेको थियो।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ। आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म १ सय १५ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update