हिमाल दैनिक
सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु, एक घाइते

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको निधन भएको छ।

सौर्य एअरलाइन्सको सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। साथै उक्त दुर्घटनामा परि एक जना घाइते भएका छन्। घाइतेलाई तत्काल उद्दार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दुर्घटनामा परेका तीन जनाको उद्दार गरि शिक्षण अस्पतालमा पठाएको थियो। जहाजका क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले आधिकारिक जानकारी दिएको छ।

बुधबार बिहान ११ः११ बजे उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको अचानक खाल्डोमा खस्दा जहाजमा आगो लाग्न पुगेको थियो। जहाज दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय उडान र अवतरण समेत प्रभावित भएको छ।

दुर्घटना हुनासाथ विमानस्थलमा रहेको उद्दार टोलीले जहाजको आगो निभाउँदै उद्दार कार्यलाई तिब्रता दिएपनि यात्रुहरुलाई जिवितै उद्दार गर्न भने असम्भव प्राय नै भयो। मृतकको शव महाराजगञ्ज अवस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पठाइएको छ।  

जहाज मर्मतका लागि सौर्य एयरका कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको बताइएको छ।

 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update