हिमाल दैनिक
सौर्य एयर विमान दुर्घटनाः घटनाबारे जानकारी लिन प्रधानमन्त्री ओली घटनास्थलमा
Photo: K P Sharma Oli's facebook page

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्थ भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओेली घटनास्थलको निरिक्षण गर्न पुगेका छन्।
 
सौर्य एअरलाइन्सको सौर्य एयरको ९ एन एएमई जहाज विमानस्थलको धावनमार्गबाट उडेलगत्तै दुर्घटनामा परेको समाचार प्रकाशित भएलगत्तै प्रधानमन्त्री ओली अपरान्ह त्रिभुवन विमानस्थलमा पुग्दै घटनाको कारण बुझ्न लागेको जानकारी दिएका छन्।

उनले आफ्नो फेसबुकमार्फत भनेका छन्, ‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ। यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु।’

यसैगरी घटनास्थलको स्थलगत अध्ययनका लागि नागरिक उड्ययन तथा पर्यटन मन्त्री बद्री पाण्डे पनि विमानस्थलमा पुगेको जानकारी आएको छ।

दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। साथै उक्त दुर्घटनामा परि एक जना घाइते भएका छन्। घाइतेलाई तत्काल उद्दार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दुर्घटनामा परेका तीन जनाको उद्दार गरि शिक्षण अस्पतालमा पठाएको थियो। जहाजका क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले आधिकारिक जानकारी दिएको छ।

बुधबार बिहान ११ः११ बजे उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको अचानक खाल्डोमा खस्दा जहाजमा आगो लाग्न पुगेको थियो। जहाज दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय उडान र अवतरण समेत प्रभावित भएको छ।

दुर्घटना हुनासाथ विमानस्थलमा रहेको उद्दार टोलीले जहाजको आगो निभाउँदै उद्दार कार्यलाई तिब्रता दिएपनि यात्रुहरुलाई जिवितै उद्दार गर्न भने असम्भव प्राय नै भयो। मृतकको शव महाराजगञ्ज अवस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पठाइएको छ।  

जहाज मर्मतका लागि सौर्य एयरका कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको बताइएको छ।

 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update