हिमाल दैनिक
रसिया–युक्रेन युद्दः ५६ जनाले ज्यान गुमाए, ६ युद्दबन्दीसहित सबैको उद्दारका लागि कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि निरन्तर कुटनीतिक पहल भइरहेको जानकारी दिएकी छिन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले रुसी सेनामा ज्यान गुमाएकाको संख्या ३४ जना रहेको तथा डिएनए परिक्षणका लागि पठाइएको २२ जना रहेको जानकारी दिँदै उनीहरु पनि मृतककै संख्यामा परेको ठान्नु पर्ने बताइन्।

यसैगरी उक्त युद्दका क्रममा हाल युक्रेनमा ६ जना नेपाली युवा बन्दीका रुपमा रहेको जानकारी दिइन्।

उनीहरुको उद्दारको विषयमा नेपालस्थित रसियन दूतावासका प्रतिनिधिसँग आफूले हालै मात्र युद्दबन्दीहरुको रिहाइका लागि कुटनीतिक पहल गरी नेपाल फर्कादिने व्यवस्था मिलाउन आग्रह गरेकोमा ६ जना युद्दबन्दैमध्ये एकजना (लामिछाने थरका भाइ)लाई ‘प्रिजन अफ वार एक्स्चन्ज लिष्ट’ युद्दबन्दी सट्टापट्टाको सूचिमा राखिसकेको जानकारी पाएको बताइन्।

उनले रुसी सेनामा रहेका अन्य नेपालीलाई पनि छिटो स्वदेश फर्काउनका लागि कुटनीतिक पहल भइरहेको बताइन्।
उनले अनौपचारिक रुपमा नेपालस्थित अमेरिकन राजदूत लगायतका प्रतिनिधिहरुसँग युक्रेनमा रहेका नेपाली युद्दबन्दीहरुलाई उद्दार गर्ने कार्यमा सहयोग गरिदिन आग्रह गरेको जानकारी पनि दिइन्।

यसका लागि वास्तवमा रसियास्थित नेपाली राजदूतावासले नै सक्रिय भूमिका निर्वाह गर्नु पर्ने सुझाव यसअघिका परराष्ट्र मन्त्री र मन्त्रालयका अधिकारीहरुलाई प्राप्त भइसकेको अवस्थामा यसबारे रसियन सरकारले गर्ने निर्णयका आधारमा उनीहरुलाई नेपाल फिर्ता कसरी गर्ने भन्नेबारे पनि अझै गम्भीर विचारविमर्श गर्न जरुरी रहेको धारणा राखिन्।

‘यसका बाबजूद, अहिलेसम्म पनि ठोस एक्सन प्लान, यस्तै गर्न सक्छौँ भन्ने योजना अगाडि बढ्न सकेको छैन,’ उनले भनिन्।

उनले बंगलादेशको हिंसाका कारण समस्यमा परेका नेपालीहरुलाई समयमा नै उद्दार गर्न सफल भएको धारणा राखिन्। नेपाली दूतावासमा रहेको सानो संख्याको प्रतिनिधिमण्डलले समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई अहोरात्र खट्टिएर उद्दार गर्ने कार्यमा लागेकै कारण अहिलेसम्म त्यहाँ रहेका करिब ३ हजार नेपालीमध्ये कतिपय हवाई मार्गबाट र कतिपय स्थलमार्गबाटगरी हालसम्म बंगलादेशबाट करिव १७ सय नेपाली विद्यार्थीहरु सुरक्षित रुपमा स्वदेश फर्किसकेको जानकारी दिइन्।

यसैगरी इजराइलबाट वेपत्ता भएका नेपाली युवक विपीन जोशीको उद्दारको सन्दर्भमा नेपाल सरकारले सुरुदेखि नै दुईपक्षिय र बहुपक्षिय कुटनीतिक पहल जारी राखेको बताइन्।

त्यस्तै परराष्ट्रमन्त्री राणाले बीआरआइ परियोजनाको कार्यान्वयनका बिषयमा छलफल हुन बाँकी रहेको जानकारी दिदै देशको हितमा मोडालिटी तय गर्दै आवश्यक निर्णय लिइने धारणा समिति समक्ष राखिन्।

 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update