हिमाल दैनिक
अस्तायो, कांग्रेसको कीर्तिपुर क्षेत्रको उज्वल नक्षत्रः राजकुमार दाई!

निरंकुश पञ्चायती शासनकालको कुरै छाडौं, ०६४ सालपछि बहुदलीय शासन व्यवस्थाको सुरुवाती दिनमा पनि उपत्यकाको ऐतिहासिक नगरीका रुपमा परिचित कीर्तिपुरमा नेपाली कांग्रेस र यसका भातृ संघसंस्थाको उपस्थिति विरलै देखिन्थ्यो।

देशकै पहिलो र ठूलो शैक्षिक मन्दिर, त्रिभुवन विश्वाविद्यालयलाई काखमा राखेर बसेको कीर्तिपुर र यस वरपरका क्षेत्रमा राजदरबार र पञ्चायती शासकविरुद्ध उग्रविरोधीहरुको जमात त थियो नै, बहुदलीय प्रजातन्त्रको पक्षपाती दलका रुपमा परिचित नेपाली कांग्रेसको उपस्थिति समेत अत्यन्त कमजोर र पातलो थियो।

जसको कारण ०४८ सालको आम निर्वाचनमा यही क्षेत्रबाट तत्कालीन नेकपा एमाले महासचिव मदन भण्डारीले अत्याधिक मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित मात्रै भएनन्, त्यसलगत्तै सम्पन्न उपनिर्वाचनदेखि स्थानीय तहको निर्वाचनहुँदै ०५१ को मध्यावधी र ०५४ को स्थानीय निर्वाचनमा पनि कांग्रेसलाई जमानत जोगाउन समेत हम्मेहम्मे परेको थियो।

पुरानो नेवार समुदायको बाक्लो वस्ती रहेको कीर्तिपुरमा भूमिगत कालदेखि नै विभिन्न नामले परिचित वामपन्थी नेताहरुले बसालेको बलियो जग वरपर सीला खोजेझै गरी कांग्रेस खोज्नुपर्ने अवस्थामा पनि एउटा भर्खरै हुर्कँदै गरेको कलिलो युवा चारतारे झण्डा लिएर ०४६ सालकै आन्दोलनको अग्रमोर्चामा उभिने आँट देखायो।

पञ्चायती शासनकालमा मात्र होइन, त्यसपछिका केही वर्षहरु विश्वविद्यालयमा अध्ययनरत कांग्रेस निकट विद्यार्थीहरुको संस्था नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तालाई एमाले निकट विद्यार्थीहरुसँगको विवाद हुँदा समेत स्थानीय कीर्तिपुरबासीहरुले कतिपय अवस्थामा कम्युनिष्टको साथ लागेर नेवि संघका विद्यार्थीलाई बल्खु कटाउँन पनि पछि पर्दैनथे।

त्यस्तो अवस्थामा पनि कीर्तिपुरको मुख्य बस्ती र बजारमा कांग्रेसको प्रजातान्त्रिक समाजवाद र वाकस्वतन्त्रताको पाठ पडाउँदै कमजोर कांग्रेसको संगठन विस्तारमा निरन्तर लाग्दै आएको एक युवक थिए, राजकुमार नकर्मी।

बुबा राजमान नकर्मी र लक्ष्मी नकर्मीको कोखबाट ०२१ साल असार २० गते जन्मिएर ४० कै दशकमा कांग्रेसको विद्यार्थी संगठनमा प्रजातन्त्र र जनअधिकारको पक्षमा वकालत गर्दै ०४६ को जनआन्दोलनमा वामपन्थी नेताहरुबीच कांग्रेसको चारतारे झण्डा लिएर अग्रमोर्चामा उभिने आँट र क्षमता देखायो राजकुमारले।

मझौला कदको चम्किलो र सुन्दर अनुहार, मिठो र नम्र बोलीले जस्तोसुकै विरोधीसँग पनि संगठनको विचार र अडान निडर निर्भिक ढंगले राख्न कहिल्यै पछि नपर्ने राजकुमारले उमेरले आफूभन्दा अलि बढी नै भएका हरिशरण महर्जन, बद्रीलाल मर्हजन, बद्री खनाल लगायतका अग्रहरुलाई साथ लिएर वामपन्थीहरुले कुनै बेला लालकिल्ला भनि घोषणा गर्दैआएको कीर्तिपुर र त्यस वरपरको क्षेत्रमा ०५६ सालको निर्वाचन परिणाम नै उल्टाइदिने क्षमता देखायो।

फलस्वरुप वामपन्थी किल्लाको रुपमा परिचित काठमाडौको त्यस क्षेत्रबाट काठमार्डौ कांग्रेसका पुराना नेता तिर्थराम डंगोललाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराउन सफल भए।

हुनत, ०५४ सालकै स्थानीय निर्वाचनमा पनि राजकुमारले कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि टिकटको अपेक्षा गरेका थिए। तर, उनी भन्दा उमेरले अलि बढी रहेका हरिशरणलाई पार्टीले अवसर दिएपछि उनले चुनावमा हरिशरणको प्रचारमा भिड्नुको विकल्प भएन।

त्यसका बाबजूद पनि उनले राजनीतिक गतिविधिलाई निरन्तरता दिँदै गए। त्यस क्षेत्रको क्षेत्रीय सभापतिका रुपमा क्रियाशील राजकुमारले कीर्तिपुरका नयाँ युवाहरुलाई विस्तारै कांग्रेस र यसको भातृ संगठनमा आकर्षित गर्दै संगठन विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहे।

०६२/०६३ सालको दोस्रो जनआन्दोलनमा भने तत्कालीन सात दलको तर्फबाट विशेषगरी कांग्रेसको तर्फबाट कीर्तिपुर क्षेत्रमा आन्दोलनको ज्वारभाटा नै श्रृजना गरे। फलस्वरुप तत्कालीन सरकारले कीर्तिपुर नगरपालिका वरपर लगाएको कफ्र्यू आदेश निश्प्रभावी भएको निश्कर्ष निकाल्दै त्यहाँ परिचालित तत्कालीन शाही नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई कीर्तिपुरबाट फिर्ता नै बोलाउनु परेको थियो।

आन्दोलनको नेतृत्व गर्दै अग्रमोर्चामा खटिने क्रममा ०६३ सालको वैशाख (५ वा ६ गते हो एकिन भएन)मा नयाँबजार पाँगा दोबाटोमा प्रहरीहरुको एउटा जत्थाले झुक्याएर सडकमा लडाउँदै लाठी र बुटले धुस्न पारेर कुटेको थियो।

पाँगा दोबाटोमा आन्दोलनको रिपोर्टिङ गर्न पुगेको योे पंक्तिकारले देखेपछि त्यहाँ खटिएर पुगेका नेपाल प्रहरीका एसएसपी विज्ञानराज शर्मा र सशस्त्र प्रहरीका डिएसपी अजय छतकुलीको सहयोगमा राजकुमारले उद्दार गरी उपचारका लागि अस्पताल पठाउने व्यवस्था मिलाएको थियो।

आन्दोलनको सफलता पश्चात सम्पन्न पहिलो र दोस्रो संविधान सभामा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १० बाट टिकटको अपेक्षा गरेका राजकुमारको त्यो योगदानलाई पार्टी नेतृत्वले भने मूल्यांकन गर्न चाहेन अथवा सकेन।
हुनत, दोस्रो संविधान सभाको निर्वाचनमा नेताहरुले आश्वासनसहित उनलाई समानुपातिक सूचिमा राखेपनि अवसरको वितरण गर्दा त्यो भाग उनको भाग्यमा पर्नै सकेन।

नयाँ संविधान जारी भएपछि सम्पन्न स्थानीय तहको निर्वाचनमा भने बल्लतल्ल कांग्रेसले राजकुमारलाई कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा प्रत्यासी बन्ने अवसर त दियो। तर, पार्टीभित्रैको आन्तरिक मतभेदसँगै जातिय प्रभावका कारण ०७४ को स्थानीय तहको निर्वाचनमा पनि उनी पराजित हुन पुगे।

स्वास्थ्य अवस्था विस्तारै खस्कँदो क्रममा पनि उनले राजनीतिक सक्रियतालाई शिथिल बनाएन्न। फलस्वरुप काठमाडौंं जिल्ला पार्टी सचिव र उपसभापतिसम्मको जिम्मेवारीमा बस्दै आएका राजकुमारले ०७९ को स्थानीय तह निर्वाचनमा भने बल्ल कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित हुँदै कीर्तिपुरबासीको भावना बमोजिम त्यस क्षेत्रको विकास निर्माण र सामाजिक सुधारमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर पाए।

तर, नियतीको खेल, जतिबेला राजकुमारसँग युवा जोश, जाँगर र उत्साहसहितको स्वस्थ शरिर थियो, त्यतिबेला अवसरले उनलाई भेटेन। जब उनलाई अवसरले पछ्यायो, तब उनीसँग शारिरीक स्वास्थ्यले साथ छाडिदियो।

कहिले आँखाको समस्या देखियो भन्दै शल्यक्रिया गर्दा झन बल्झिन पुग्ने त कहिले अस्वस्थ भएर स्वास्थ्य परिक्षण गर्दा दुबै मृगौला नै कामै नलाग्नेगरी समस्याग्रस्त अवस्थामा पुगेको रिपोर्ट हात लाग्ने।

हुनत, आजको युगमा मृगौला प्रत्यारोपणको सुविधा उपभोग गरेर कतिपय गन्यमान्य व्यक्तिदेखि सर्वसाधारणसम्मले पनि नयाँ जीवन पाइरहेका छन्। तर, त्यो अवसर राजकुमारलाई मिल्नै सकेन।

नेपालभित्र मात्र होइन, भारतका विभिन्न शहरस्थित अस्पतालहरुमा धाँउदा समेत उनले मृगौला प्रत्यारोपण गर्न सकेनन् अथवा उनको भाग्यको लिला नै भनौँ वा कीर्तिपुरबासीको दुर्भाग्य!

विगत दुई वर्षदेखि निरन्तर डाइलसिसको भरमा बेलाबखत घर नजिकै रहेको नगरपालिका कार्यालय जाँदै सकेजति काम गर्दैआएका राजकुमारको अवस्था झन खस्किँदै गयो।

बिहिबार स्थिति गम्भीर बन्दै गएपछि परिवारका सदस्यले बीर अस्पताल पुर्याएर भर्ना पनि गरे। तर, हजारौँ कीर्तिपुरबासीहरुको प्रिय ‘राजकुमार दाई’को नामले परिचित नगरप्रमुख राजकुमारको बिहिबार राती नै देहवसान भयो।
जसको पार्थीव शरिर आज बिहान नगरपालिका भवन नयाँबजारमा केही घण्टा राख्दैगर्दा पुरै कीर्तिपुर नगरबासी भावविहल हुँदै श्रद्धाको आँशुसहित अन्तिम विदाई गर्न ओइरियो।

कुनै बेला, दुई, चार जना समर्थक साथी भाई पनि भेट्टाउन नसकेका राजकुमारले आज हजारौँको साथ होइन, मन, मुटुदेखिको स्नेह र सदभाव पायो। हाम्रो पनि भावपूर्ण श्रद्दाञ्जली, कीर्तिपुर क्षेत्रको उज्वल नक्षेत्र ‘राजकुमार दाई’लाई!   

 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update