हिमाल दैनिक
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाहको दाबी पेश, आजै नियुक्ति पाउने सम्भावना

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष दावी पेश गरेका छन्।

निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारीको नेतृत्वमा रहेको प्रदेश सरकारलाई केन्द्रीय सरकारमा आएको राजनीतिक फेरबदलसँगै नेकपा एमालेले समर्थन फिर्ता लिएलगत्तै अल्पमतमा परेपछि रिक्त हुन पुगेको प्रदेश मुख्यमन्त्री पदका लागि प्रदेश प्रमुख नजिर मियाँले आइतबार अपरान्ह ५ बजेसम्म दाबी पेश गर्न दिएको समयसीमा अगावै शाहले आफ्नो दाबी पेश गरेका हुन्।

उनले प्रदेश सभामा रहेका कांग्रेसका १८ जना र एमालेका ११ जना सदस्यको हस्ताक्षरसहित २९ जना प्रदेश सभा सदस्यहरुको समर्थन आफ्नो पक्षमा रहेको भन्दै प्रदेश मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गरेका हुन्।

सुदूरपश्चिम प्रदेश सभामा रहेका ५३ सदस्यहरुमध्ये सरकार गठनका लागि आवश्यक २७ सदस्यको समर्थन चाहिने भएपनि कांग्रेस र एमालेका सदस्यहरुको संख्या २९ रहेको छ।

सम्भवत् प्रदेश प्रमुख मियाँले शाहको दाबी बमोजिम आजै साँझ ५ बजेपछि शाहलाई प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति दिने छन्। यसरी शाह प्रदेशकोे मुख्यमन्त्री नियुक्त भएमा उनी प्रदेश सभाको डेढ वर्षे कार्यकालमै दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुने छन्।

यसअघि प्रदेशको मुख्यमन्त्री पदका लागि कांग्रेसकै बहादुरसिंह थापा र प्रकाश देउवाले पनि मुख्यमन्त्री पदमा दाबी गर्दै नेतृत्वमाथि दबाब दिएपनि पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश सभामा संसदीय दलका नेता शाहलाई नै नयाँ सरकारको नेतृत्व गरी अघि बढ्न निर्देशन दिएपछि अन्य आकांक्षीहरु पाखा लागेका थिए।

गत फागुनमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता साझेदार दलहरुको सूचिमा अदलाबदली गर्दै कांग्रेसलाई सत्ता बाहिर पारिदिएपछि प्रदेशका मुख्यमन्त्री शाह पनि अल्पमतमा पर्दा पदबाट मुक्त भएका थिए। उनलाई विस्थापित गर्दै नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले बडो मुस्किलले एमाले, माओवादी लगायतका दललाई मनाएर प्रदेशको मुख्यमन्त्री बन्न सफल भएपछि सोडारीको सरकार केन्द्रमा सत्ता गठबन्धन र सरकारको नेतृत्व फेरिएलगत्तै अल्पमतमा पर्न पुगेको थियो।

जसको कारण सोडारी नेतृत्वको सरकारले प्रदेश सभामा चालु आर्थिक वर्षको वार्षिक बजेट समेत ल्याउन र पारित गर्न नसक्दा उक्त प्रदेश अहिले बजेट होलिडेको स्थितिबाट गुज्रिरहेको छ।

 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update