हिमाल दैनिक
छ महिनापछि बल्ल सम्झियो कांग्रेसले महासमिति बैठकमा प्रस्तावसँगै सुझावहरु पनि आएका थिए भनेर!

नेपाली काँग्रेसले महासमिति बैठकमा पेश भएका बिभिन्न प्रस्तावहरुलाई संशोधनसहित पारित गर्ने तयारी गरेको छ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा साउन २३ गते बस्ने केन्द्रीय कार्य समितिको बैठकमा पेश हुने प्रस्तावहरुबारे छलफल गर्दै महासमितिमा पेश भएका प्रस्तावमाथि आएका सुझावहरुलाई संशोधनसहित केन्द्रीय कार्य समितिबाट पारित गर्ने निर्णय भएको जानकारी सहमहामन्त्री जीवन परियारले दिए।

गत फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बसेको कांग्रेस महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक प्रस्ताव, गगनकुमार थापाले सांगठनिक प्रस्ताव तथा अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक विषयमा पेश गरेको प्रस्तावका अतिरिक्त तत्कालीन अर्थमन्त्री एवं पार्टी प्रवक्ता प्रकाशशरण महतले आर्थिक स्थितिबारे पेश गरेका प्रस्तावमाथि छलफल चलेको थियो।

उक्त बैठकमा पेश भएका प्रस्ताव र त्यसमाथिको छलफलमा सहभागी सदस्यहरुले दिएको सुझावहरुलाई समेटेर तयार पारिएका संशोधनसहितको प्रसताव पार्टी केन्द्रीय कार्यसमितिले पारित गर्ने भन्दै महासमिति बैठक सकिएको ६ महिनापछि कांग्रेसले उक्त प्रस्तावहरुको विषयमा छलफल र निर्णय गर्न लागेको हो।

महासमितिको बैठकमा चार जना पार्टी पदाधिकारीहरुले पेश गरेको १७९ पृष्ठ लामो प्रस्तावबारे महासमिति सदस्यहरुले दिएको रायसुझाव र त्यसको सान्दर्भिकता नै हराएर जानै लागेको बेला पार्टीले बल्ल त्यसमाथि पुनः छलफल र निर्णय गर्ने तयारीमा लागेको छ।

जुन प्रस्तावहरुकै कारण तत्कालीन सत्ता गठबन्धनभित्र ठूलो पहिरो गएको थियो, जसको कारण तत्कालीन सरकारको नेतृत्व गरीरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन २१ गते कांग्रेससँगको सत्ता साझेदारीतालाई अन्त्य गर्दै एमालेसँगको नयाँ गठबन्धन बनाउन पुगेका थिए।

महासमिति बैठक विशेषः कांग्रेसले विराएको बाटो र छुन नसकेको पाटो

कांग्रेस महासमिति विशेषः नेताज्यू, खेतालाहरुले राँटो छाडेछन् नि!

पार्टी पदाधिकारीहरुले खटाएका सहयोगीहरुले तयार पारेको प्रस्तावमा उल्लेखित विवादस्पद विषय र अस्पष्ट बुँदाहरुले पार्टीलाई नयाँ नीतिसहित सिंगो संगठनलाई उर्जा र गति दिने भन्दा पनि राष्ट्रिय राजनीतिलाई नै प्रभावित पार्नेगरी गतिरोध उत्पन्न गराएको थियो। जसको कारण कांग्रेस केही समय सत्ता बाहिर रहन पुगेको थियो।

त्यस्तै केन्द्रीय समिति बैठकमा वर्तमान सरकारमा पार्टीको सहभागीलाई प्रभावकारी बनाउने बिषयमा पनि छलफल हुने सहमहामन्त्री परियारले बताए।

सरकारका साथै पार्टी संगठनलाई समेत बलियो बनाउदै अघि बढ्ने बिषयमा पदाधिकारी बैठकमा छलफल भएको परियारले बताए।

यसैगरी पदाधिकारी बैठकमा विदेशस्थित सम्पर्क समितिहरूलाई व्यवस्थित गर्ने, विभाग र निर्देशन समिति बनाउने विषयमा पनि छलफल भएको सहमहामन्त्री परियारले जानकारी दिए।

 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update