हिमाल दैनिक
बंगलादेशमा सत्ता पल्टियो, प्रधानमन्त्री हसिनाद्वारा पदत्याग, भारत भागेको अनुमान
Photo: Times of India

आरक्षणको विरोधमा सडकमा उत्रिएको विद्यार्थी आन्दोलन नियन्त्रण बाहिर गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले पदबाट राजीनामा दिँदै निर्वासनमा गएकी छिन्।

विगत केही महिनादेखि चल्दै आएको विद्यार्थी आन्दोलन हिंसात्मक रुप लिँदै नियन्त्रण बाहिर गएपछि सोमबार प्रधानमन्त्री वाजेदले राष्ट्रपति मो. शाहबुद्धिन समक्ष पदबाट राजीनामा दिँदै वंगलादेशबाट भागेको समाचार अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन्।

सडकमा उत्रिएको भिडले अचानक प्रधानमन्त्रीको निवासभित्र प्रवेश गर्दै तोडफोड गर्दै नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री वाजेदले पदबाट राजीनामा दिँदै हेलिकप्टरको सहायता लिएर भारतको दिल्ली भागेको समाचार आएको छ।

आन्दोलनका क्रममा चार सयभन्दा बढी आन्दोलनकारी सुरक्षाकर्मीको दमनमा मारिएपछि आन्दोलन नियन्त्रण बाहिर गएको थियो।

विरोध प्रदर्शनमा उत्रिएको भिडले प्रधानमन्त्री निवासमा प्रवेश गर्दै तोडफोड गर्दै प्रधानमन्त्रीको शयनकक्षमा पुगी फोटो खिचाएका थिए।

यसैगरी अनियन्त्रित भिडले प्रधानमन्त्री वाजेदका पिता एवं वंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको शालिक समेत तोडफोड गर्दै आक्रोस व्यक्त गरेका छन्।

प्रधानमन्त्री वाजेदले राजीनामा दिएलगत्तै बंगलादेशी सैनिक प्रमुख जनरल वकार–उज–जमानले देशवासीका नाममा सम्बोधन गर्दै वाजेदको राजीनामा आएको पुष्टि गर्दै अब सबै पक्षसँग वार्ता गरी अन्तरिम सरकार गठन गर्ने बताएका छन्।

जनरल जमानले सबै जनता, राजनीतिक दलका नेता, कार्यकर्ता तथा आन्दोलनकारीलाई धैर्य कायम गर्दै स्थिति शान्त बनाउन आग्रह गरेका छन्। 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update