हिमाल दैनिक
गल्ती गर्ने छुट कसैलाई छैन, सरकारले अनुहार हेरेर क्षमा दिँदैनः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको तगारोका रुपमा रहेको भ्रष्टाचारलाई निर्मुल पार्ने गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा प्रधानमन्त्री ओलीले समृद्ध देश बनाउने र जनतालाई सुखी बनाउने दिशामा अगाडि बढिरहेको र यसमा भ्रष्टाचार मुख्य तगारो भएकाले भ्रष्टाचारलाई निर्मुल पार्ने गरि अघि बढ्ने बताए।

सरकार स्वच्छ, सक्षम, निष्पक्ष, जनउत्तरदायी शासन व्यवस्थाप्रति प्रतिबद्ध रहेको उनले बताए।

उनले देशलाई विकास र समृद्धितर्फ अघि बढाउनका लागि संविधानले गरेको व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा सरकार गम्भीर रहेको धारणा राखे।

प्रधानमन्त्री ओलीले गल्ती गर्ने कसैलाई छुट नहुने भन्दै अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम सरकारले नगर्ने स्पष्ट पारे।
उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि आएका महत्वपूर्ण सुझावहरुलाई समावेश गरेर विधेयकलाई समृद्ध बनाइने आश्वासन पनि दिए।

बैठकमा समिति सदस्यहरुले समृद्धिको बाधकको रुपमा रहेको भ्रष्टाचारलाई अन्त्य गर्नका लागि गम्भीर भएर अनुसन्धान गर्न र दोषी देखिएका जो कोहिलाई पनि कारवाही गर्न सुझाव दिएका थिए। समिति सदस्य रास्वपा सभापति रवि लामिछानले राजनीतिक दल संलग्न भ्रष्टाचारमा सरकारले गम्भीर भएर अनुसन्धान गर्नुपर्ने सुझाव दिए।

त्यस्तै समिति सदस्य सांसद सरिता प्रसाईंले अख्तियारप्रति जनताको भरोष कमजोर हुँदै गएको भन्दै अख्तियारको प्रमुखमा राजनीतिक नियुक्त नगर्न सुझाव दिइन्।

त्यस्तै प्रसाईंले पुल्चोकस्थित मन्त्री क्वाटरलाई सांसद क्वाटरमा परिणत गर्न पनि सुझाव दिइन्।

बैठकमा समितिका अन्य सदस्यहरुले पनि आफ्नो राय, सुझाव सरकारको नेतृत्वसमक्ष राखेका थिए।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि अर्को बैठकबाट छलफल सुरु हुने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update