हिमाल दैनिक
आइएमई र जीएमई रेमिट एकीकरण पश्चात कारोबार सुरु

रेमिट्यान्स कम्पनी आइएमई र जीएमई रेमिटको मर्जरपछि एकीकृत कारोबार सुरु भएको छ।

मर्जरपछि आइएमई लिमिटेडको नाममा बुधबारबाट एकीकृत कारोबार शुभारम्भ गरिएको हो। एकीकृत कारोबारको शुभारम्भ गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई सुरुवातको समय करिब २० प्रतिशत मात्र औैपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको बताए।

उनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरुको पूर्ण पालना गर्दै अगाडि बढ्ने गरेको दाबी समेत गरे।

आइएमई ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको उनले बताए।

त्यसैगरी रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरुगरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको समेत उनले जानकारी दिए।

त्यस्तै  आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले अवको दिनमा आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंक लगाएत सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए।

आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने तयारी भइरहेको जनाएको छ। मर्जरपछि कम्पनीको चुक्ता पुँजी १ अर्व १५ करोड रुपैया कायम भएको कम्पनीको दाबी छ।

 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update