हिमाल दैनिक
संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गरी प्रतिगमनमा जान संविधान संशोधनको कुरा सोच्नै सकिन्नः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र लोकतान्त्रिक गणतन्त्रसहितको शासन व्यवस्थालाई असर पार्ने कुनै पनि काम सरकारले नगर्ने स्पष्टोक्ति दिएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निकै संघर्ष गरेर अहिलेको प्रणाली ल्याउन सफल भएको भन्दै अहिलेको व्यवस्थालाई असर पार्ने कुनै पनि काम सरकारले नगर्ने स्पष्ट पारे।

लोकतन्त्रको रक्षा र संविधानको रक्षा गर्नको लागि आफू प्रतिबद्ध रहेको बताउँदै उनले संविधानको सर्वस्वीकार्यताको पक्षलाई ध्यानमा राखेर सबै दलहरुबीच सहमति कायम गरेर संविधानको संशोधन गरिने दाबी गरे।

जुन संविधान र व्यवस्थाका लागि राजनीतिक दल र नेताहरुले बलिदान दिएका थिए त्यसको बदलामा संविधान संशोधनको कुरा चल्दा प्रतिगमन र अधिनायकवादतर्फ जान्छ भन्ने कल्पना कसैले गर्न नसक्ने बताए।

गत असारको १७ गते संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति पश्चात गठन भएको नयाँ सत्ता गठबन्धनको सरकार बनेपछि उक्त सहमतिले संविधानमा संघीयता, समावेसी प्रावधान हटाएर प्रतिगमनउन्मुख भएको भन्ने आरोप विपक्षीहरुले लगाउने क्रम जारी रहेकै बेला ओलीले स्पष्टिकरण स्वरुप यस्तो अभिव्यक्ति दिए।

उनले भने, ‘हाम्रो विश्वास डेमोक्रेसी र लोकतान्त्रिक शासन व्यवस्थाप्रति भएकै कारण विगतका आन्दोलनमा टाउको थाप्न तयार भएका हौँ।’

उनले लोकतान्त्रिक शासन व्यवस्थालाई अझ समृद्ध र सुदिृढ बनाउन संविधानमा आवश्यक संशोधन गर्न सकिने भन्दै यो संशोधनले देशमा विकास, सुशासन र जनताको जीवनमा परिवर्तन ल्याउन भन्दै समावेसीता, संविधानका आधारभूत मूल्य र मान्यता मास्नेगरी संशोधनको कल्पना पनि गर्न नसकिने बताए।

संविधानले विकास र जनताको आकांक्षा सम्बोधन गर्न कठिनाई भएका विषयवस्तुमा बहुमतको बलमा नभई सर्वस्वीकार्यताको लागि सबै राजनीतिक शक्ति, संविधानविदहरुको राय सुझावका आधारमा मुलुकको आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने उनले बताए।

‘हामी सबै मिलेर बनाएको यो संविधान हो, कसैकसैलाई मात्रै माया लागेर बनाएको होइन। हामी सबै मिलेर नै यसमा संशोधन गर्छौँ,’ उनले भने।

अहिले सामाजिक मूल्य, मान्यता र शासन व्यवस्था भत्काउने गरी भइरहेका गतिविधिहरु नियन्त्रणका लागि संसदमा रहेका सबै दल र नेताहरुले नै समाजलाई गाइड गर्न आफूलाई नमूनाका रुपमा प्रस्तुत गर्न सक्नु पर्ने बताए।

सुशासन र बिकासका काममा तीव्रता दिनका लागि संविधान संशोधन हुने भन्दै यसलाई प्रतिगमनको रुपमा बुझ्न नहुने बताउनुभयो । ओलीले लोकतान्त्रिक व्यवस्था विरोधी प्रवृत्तिहरु देखा पर्न थालेकाले त्यस्ता प्रवृत्तिबाट देशलाई मुक्त गर्नका लागि गम्भीर भएर अघि बढ्ने उल्लेख बताए।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई पुरा गर्न देश र जनताको हितहरुप्रति समर्पित भएर काम गर्ने जिकिर गरे।

त्यस्तै उनले आजै प्रतिनिधि सभाबाट पारित गर्ने तयारीमा रहेको संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयक पारित भएपछि द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन हुने दाबी पनि गरे।

 

 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update