हिमाल दैनिक
प्रधानमन्त्री ओलीसँग तर्सिएका दाहालले भनेः तपाईका कुरामा ढुक्कले पत्याउने सक्दिन है

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि मिलेर अघि बढ्न आफु तयार रहेको बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसंगसम्बन्धी विधेयकमाथिको छलफलमा दाहालले जनताको अधिकारलाई थप बलियो बनाउदै संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि एकताको हतियार बाहेक अरु बिकल्प नरहेको भन्दै आफु मिलेर अघि बढ्न आफु तयार रहेको बताए।

समाजमा अराजकता फैलाउने प्रवृतिले टाउको उठाउन कोशिस गररहेकोले त्यसको प्रतिवाद गर्न लोकतन्त्रमाथि विश्वास गर्नेहरु समझदारीका साथ अघि बढ्न जरुरी रहेको उनले बताए।

त्यस्तै दाहालले संविधान संशोधनको नाममा वा राजनीतिक स्थिरताका नाममा फेरि केही सीमित वर्ग क्षेत्र, भूगोल र स्वार्थमा शासन प्रणाली सञ्चालन गर्न नहुनेमा जोड दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता, लोकतन्त्र र समावेसीताको लोकतान्त्रिक संविधान र शासन व्यवस्थाको मान्यताविपरित सरकारले संविधान संशोधनको कल्पना गर्न नसक्ने धारणा राखेपनि विगतमा उनीसँगको आपसी धोकाधडीका कारण आफू तर्सिइरहेको भन्दै उनले पछिल्ला राजनीतिक घटना क्रममा आशंका गर्ने ठाँउ देखिएको र बहुदलीय व्यवस्थाको सट्टा दुई दलीय बनाउन लागिएको हो भन्ने प्रश्न गर्नुपर्ने अवस्था आएको जिकिर गरे।

दाहालले शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला नरहेपछि अर्का हस्ताक्षरकर्ता आफु शान्ति प्रक्रियाको मर्मलाई मर्न नदिन अन्तिमसम्म पनि लागिरहने प्रतिवद्धता व्यक्त गरे।

त्यस्तै उनले जनयुद्धलाई नेताहरुले हिंसात्मक द्वन्द्व भनि सम्बोधन गरेको भन्दै आपत्ति जनाउदै संविधानसभाको व्याख्यात्मक टिप्पणीलाई नबिर्सन आग्रह गरे। जब कि ०७२ सालमा जारी नेपालको संविधानको कुनै पनि व्याख्यात्मक टिप्पणी छैन।

दाहालले तत्कालिन अवस्थामा आफ्नो पार्टी विभाजन भएर पनि देशमा शान्ति स्थापना भएकोमा आफूलाई गर्व रहेको जिकिर गरे।

जनयुद्धको राजनीतिक इमान नै शान्ति प्रक्रिया सफल हुनुको मुख्य कारण रहेको उनको भनाइ छ। उनले नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रहेको समेत बताए।

 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update