हिमाल दैनिक
संसदीय सुदुवाई समिति सभापतिमा ईश्वरी न्यौपाने र मूल्यांकन समितिमा ठाकुर गैरे निर्वाचित हुँदै

लामो समयदेखि तदर्थबादमा चल्दै आएका संघीय संसदका दुई महत्वपूर्ण संयुक्त समितिले बिहिबारदेखि बल्ल बैधानिक नेतृत्व पाउने भएका छन्।

संघीय संसदले गठन गरेको संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिको निर्वाचनका लागि संसद सचिवालयले मंगलबार सूचना प्रकासित गर्दै तय गरेको निर्वाचन कार्यतालिका बमोजिम समितिका सभापतिको औपचारिक घोषणा आज हुन लागेको हो।

संसदमा रहेका प्रमुख राजनीतिक दलहरुबीच संसदमा उपस्थितिका आधारमा समितिका सभापतिहरुको नेतृत्व बाँडफाँटमा भएको सहमति बमोजिम सुनुवाई समितिको नेतृत्व नेपाली कांग्रेस र मूल्यांकन समितिको नेतृत्व एमालेले गर्ने भनिएको थियो।

सोही सहमति बमोजिम समिति गठन भएपनि सभापति चयनमा दलहरुले देखाएको उदासिनताका कारण दुबै समितिले अहिलेसम्म जेष्ठ सदस्यको अध्यक्षतामा बैठक संचालन गर्दैआएका थिए।

तर, पछिल्लो समय दलहरुबीच भएको सहमति बमोजिम संसद सचिवालयले प्रकासित गरेको निर्वाचन कार्यतालिका अनुसार, बुधबार सुनुवाई समितिको सभापतिमा कांग्रेस नेतृ ईश्वरीदेवी न्यौपाने र मूल्यांकन समितिको सभापतिमा एमाले सांसद ठाकुर गैरेको मात्रै उम्मेदवारी परेपछि यी दुबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित हुने भएका हुन्।

सचिवालयको कार्यक्रम अनुसार, आज अपरान्ह ३ बजे बस्ने दुबै समितिका बैठकमा सम्बन्धित समितिका सदस्यहरुमध्ये प्रस्तावकले सभापतिका उम्मेदवारको नाम प्रस्ताव गरेपछि समर्थकले समर्थन जनाउने र त्यसपछि समितिको बैठकले सम्भवत् सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नेछन्।

यसरी प्रक्रिया पूरा गरी समितिका नवनिर्वाचित सभापतिहरुलाई सभामुखले पद तथा गोपनीयताको सपथ दिलाउने र त्यसपछि विधिवत रुपमा समिति सभापतिले आफ्नो कार्यभार सम्हाल्न पाउने छन्।

 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update