हिमाल दैनिक
सबै पक्षको सहमतिविनाको संविधान संशोधन जटिल हुन्छः नेता कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रिय सहमतिको माध्यमबाट मात्रै संविधान संशोधन गर्नुपर्ने धारणा राखेका छन्।

शुक्रबार मोरङको बुढीगंगा गाँउपालिका वडा नंं. ७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिव दुई तिहाइ बहुमत रहेपनि सवैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताए।

उनले भने, ‘संविधान संशोधन जस्तो विषयमा नेपाली कांग्रेस र एमाले मिलेर दुई तिहाई बनिहाल्यो भनेपनि हामीहरु जान हुँदैन, गर्न हुँदैन। संविधान भनेको देशको संविधान हो। सबै जनतालाई (म्याक्सीमम् जनतालाई) खुशी पार्ने हो नि त संविधान बनाएर होइन?’

उनले नेपाली कांग्रेस र एमाले मात्रै मिलेर संशोधनको बाटोमा गएभने मुलुकको अवस्था झन नाजुक भएर जाने चिन्ता व्यक्त गरे।

संविधान संशोधनको विषयमा संविधानले जनमत संग्रहको प्रावधान रहेपनि नेता कोइरालाले जनमत संग्रहको बाटोतर्फ जाने भन्दा संसदभित्रैबाट संशोधनको प्रक्रियामा जानु उपयुक्त हुने सुझाव दिएका छन्।

उनले भने, ‘संशोधनको लागि जनमत संग्रहमा जानु पर्दैन, यसमा संसद (पार्लियामेन्टबाटै) एउटा कमिटी बनाएर पनि हुन्छ। संबैधानिक आयोग बनाएर गर्यो भने अझै त्यसले बृहत होला तर, मलाई त्यसमा त्यति धेरै उ लागेको छैन। त्यसैले पार्लियामेन्टबाटै कुन कुन विषयमा संशोधन गर्ने हो भनि स–साना कमिटी बनाएर, विज्ञहरुलाई राखेर गर्यो भने, मलाई लाग्छ, त्यो राम्रो हुन्छ।’

भ्रष्टाचार निवारण ऐनमा पछिल्लो समय आएको हदम्यादको विषयमा प्रतिक्रिया दिँदै उनले भ्रष्टाचार गरेको भए त्यसको छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्रको क्षेत्राधिकार दिन नहुने जिकिर गरे।

नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडिसी नेपालले प्राविधिक सहयोगमा बुढीगंगा गाँउपालिकाले मृगौला, मुटु तथा मधुमेह सम्बन्धि निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। नेता कोइरालाले विरामी जाँच गर्दै निशुल्क स्वास्थ्य शिविरको शुभारम्भ समेत गरेका थिए।

 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update