हिमाल दैनिक
रास्वपा सहमहामन्त्री विपिन आचार्य सहकारी छानविन समितिमा वयानका लागि उपस्थित

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलन गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिारीहरुलाई वयान लिने क्रम सुरु गरेको छ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले सहकारी रकम अपचलनमा मुछिएका रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यसँग बयान लिएको हो।

आचार्य सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा मुछिएका छन्।

सहकारीबाट २०७८ पुस १२ गते विपिनकुमार आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको र उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको आरोप छ।

गोर्खा मिडिया नेटवर्क प्रालिका संचालक जिबि राई र प्रवबन्ध निर्देशकका रुपमा कार्यरत वर्तमान रास्वपा अध्यक्ष रवि लामिछानेसहित आचार्यले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी, बुटबलको सुप्रिम, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम गैरकानूनी ढंगले उक्त मिडिया कम्पनी संचालनमा लिएर बचतकर्ताको बचत हिनामिना गरेको आरोप लागेको थियो।

समिति बयानका लागि हाजिर भएकाले दिएको बयानलाई सम्बन्धीत व्यक्तिको हस्ताक्षर सहित रेकर्डमा राखिएको छ।

सहकारी संस्था बचत रकम दुरुपयोग छानविनका लागि निष्कर्षमा पुग्न सरोकारवाला निकाय लगाएत सहकारी ठगिमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर पनि समितिले निरन्तर छलफल गरिरहेको छ।

छलफलका साथै प्रतिवेदनको मस्यौदा निर्माणको काम पनि निरन्तर भइरहको समिति संयोजक सूर्य थापाले जानकारी दिए।

यसअघि संसदमा सहकारी प्रकरणमा छानविन गर्नुपर्ने आवाज उठेपछि गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिएको थियो।  

उक्त छानविन समितिले आफ्नो कार्यविधि अनुमोदन गरेलगत्तै निरन्तर समितिको बैठक डाकेर यसको छानविन र अध्ययन प्रक्रिया अघि बढाइरहेको छ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update