हिमाल दैनिक
परराष्ट्रमन्त्री आरजुद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट, नेपाल भ्रमणका लागि निमन्त्रणा
Photo: Facebood page of Arzu Rana Deuba

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका मन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी गरेको आफ्नो फेसबुकमार्फत बताएकी छन्।

‘नेपालको परराष्ट्र मन्त्रीको रुपमा मेरो यो भ्रमण र उच्चस्तरिय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेकी छु,’ मन्त्री राणाले मोदीसँगको भेटवार्ता लगत्तै आफ्नो स्टाटस्मा भनेकी छन्।

यसैगरी उनले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना सन्देशसँगै नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र पनि दिएकी छन्।

गत असारको अन्तिम साता फेरिएको सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेसको तर्फबाट परराष्ट्रमन्त्री बनेकी राणाको यो पहिलो औपचारिक विदेश भ्रमण हो।

सन् २०१४ को आमचुनाव पश्चात लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्न सफल मोदीको विगत १० वर्षको अवधिमा नेपालका परराष्ट्रमन्त्रीहरुसँग विरलै भेटवार्ताको समय दिने मोदीले यसपटक राणालाई विशेष महत्व दिएर भेटवार्ता गरेको घटनाक्रमले देखाउँछ।

यसअघि, सन २०१४ को अक्टोवरमा तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र सन २०१५ को अक्टोवरमा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए।

त्यसबाहेक, अन्य परराष्ट्रमन्त्रीहरुले नयाँ दिल्ली भ्रमणमा जाँदा पटक पटक मोदीसँगको भेटवार्ताको प्रयास गरेपनि कसैले पनि समय पाउन सकेका थिएनन्।

नेपाल सरकारका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत पुगेका तत्कालीन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सन २०१६ को अगस्टमा प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेयता नेपालका मन्त्रीहरुमा मोदीसँग भेटवार्ता गर्न समय पाउने मन्त्रीको सूचिमा राणा परेकी छन्।

आइतबार नयाँ दिल्ली पुगेर औपचारिक भेटवार्ता सुरु गरेकी मन्त्री राणाले मोदीसँग भेट्नु अघि सोमबारै भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेकी थिइन्।

Foreing minister arzu met with indian external minister1724138783.jpg

उक्त भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो।

उक्त भेटवार्ताका क्रममा भारतले नेपालका १२ वटा उर्जा उत्पादन कम्पनीबाट सुख्खा याममा थप २५१ मेघावाट विजुली खरिद गर्ने अनुमति दिएको बताइएको छ।

परराष्ट्रमन्त्री राणा भदौ ६ गते नयाँ दिल्लीको भ्रमण सकेर स्वदेश फर्किने कार्यक्रम रहेको छ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update