हिमाल दैनिक
सबैको सहमति भए उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभा अध्यक्ष बनाउन सकिन्छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा सहमति जुट्यो भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्षको भूमिकामा राख्न सकिने धारणा राखेका छन्।

कांग्रेस नेता एवं समाजवादी चिन्तक तथा राजनीतिक विश्लेषक प्रदिप गिरिको दोस्रो स्मृति दिवसको सम्झनामा स्कूल अफ डेमोक्रेसी नामक संस्थाले आयोजना गरेको विचार गोष्ठीमा सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्।

जनताको त्याग, बलिदान र संघर्षबाट बनेको देशको संविधानमा समयसापेक्ष संशोधन र परिमार्जन गर्ने कुरामा आफू र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच कुनै गोप्य सम्झौता नभएको भन्दै उनले भने, ‘संविधानलाई अझ बढी लोकतान्त्रिक र गतिशील बनाउन हामीले संशोधनको कुरा गरेका होँ। यसमा सबै पक्षलाई मिलाएर सबैको सहमति जुट्न सक्यो भने भारतमा जस्तै उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष किन बनाउन सकिँदैन?’

कतिपय विपक्षी दलले सत्ताका निम्ति कांग्रेस र एमाले नेताहरुले अध्यारो कोठामा संविधान संशोधनको सहमति गरेर मुलुकलाई पश्चगमनतर्फ धकेल्न खोजिरहेको आरोप लगाइरहेका बेला देउवाले राष्ट्रिय सहमतिका आधारमा बनेको संविधानलाई राष्ट्रिय सहमतिकै माध्यमबाट संशोधन गरेर लोकतन्त्रलाई अझ सुदिृढ बनाउने दाबी गरे।

उनले प्रदिप गिरि एक अत्यन्त अध्ययनशील र विचार प्रवाह गर्न सक्ने नेता भएको उल्लेख गर्दै उनको विद्धवताकै कारण संविधान निर्माणका क्रममा पार्टीको लाइन विपरित संविधान सभामा उभिँदा पनि पार्टीले उनको कदमप्रति कुनै आपत्ति प्रकट नगरेकेो बताए।

साथै देउवाले गिरिका विचार, लेख रचनाहरुले नेपाली राजनीतिक समाज र विशेषगरी कांग्रेसका लागि ठूलो प्रेरणाको स्रोत हुन सक्ने उल्लेख गर्दै यसबारे जोसँग उनका लिखित, अलिखित विचार वा पुस्तक भएपनि त्यो बाहिर ल्याउन जोड दिए।

देउवाले भन्दा अघि बोल्ने क्रममा भारती सिलवालले गृहमन्त्री हुन अगाडि बेलायतबाट फर्किएपछि देउवाले आफ्नो एउटा पुस्तक लिएर गएपनि अहिलेसम्म नफर्काएको भन्दै गुनासो पोखेकी थिइन्।

ढिलोगरी कार्यक्रममा पुगेका देउवाले त्यसका बाबजूद आफूले सिलवालबाट पुस्तक लगेको कुरा आफूलाई सम्झना नभएको भन्दै यदि लगेर फर्काउन बिर्सिएकै भए त्यसले आफ्नो ज्ञान बढाउन मद्दत गरेका हुन सक्ने जवाफ दिएका थिए।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update