हिमाल दैनिक
स–सानो पूँजीमार्फत उत्पादन बृद्धि गर्न प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पूँजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने धारणा राखेका छन्।

स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आय आर्जनका अवसर खोज्न सकिने बताए।

उनले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन जोड दिए।

यस्ता उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै उनले केही ठग तत्वहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई रणम्रोसँग अगाडि बढाउने दाबी गरे।

सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुन नदिने भन्दै उनले यसलाई अभियानका रुपमा लानुपर्नेमा जोड दिए।

देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी नहुने उनको भनाइ छ।

त्यस्तै उनले सरकारमा झन्डा हल्लाउन आएको नभई केही गर्नका लागि जिम्मेवारीमा आएको जिकिर पनि गरे।

 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update