हिमाल दैनिक
मुकुललाई रास्वपाबाट निश्कासनसहितको चुकुल लगाउन मागियो दोस्रो स्पष्टिकरण

राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमहामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निश्कासनको वैधानिक प्रक्रिया सुरु गरेको छ।

पार्टी कार्यालय बनस्थलीमा बुधबार बसेको रास्वपा केन्द्रीय समितिले ढकाललाई साधारण सदस्यसमेतबाट किन कारवाही नगर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेर उनलाई पार्टीबाट हटाउने प्रक्रिया पूरा गर्न लागेको हो।

पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्व र उनको विवादस्पद व्यक्तिगत चरित्रको विषयमा आपत्ति जनाउँदै पार्टीभित्र आन्तरिक संघर्षको सुरुवात गर्ने जमर्को गरेका ढकालमाथि अनुशासनको कारबाही चलाएकोमा उक्त कारबाहीको अन्तिम किनारा लगाउनेगरी आजको बैठकले दोस्रो पटक स्पष्टिकरण सोध्ने निर्णय भएको जानकारी रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले दिए।

सरकारको गृहमन्त्री रहेकै बेला देशका विभिन्न शहरमा रहेका सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप खेप्दै आएका सभापति लामिछानेको विरुद्धमा पार्टीभित्र लिखित प्रतिवेदन नै पेश गरेपछि ढकाललाई रास्वपाले लामिछानेको चाहना बमोजिम पदबाट निलम्बन र पछि निस्कासनको प्रक्रिया अघि बढाएको थियो।

तर, ढकालले पार्टी विधान र कानून बमोमिज उनीमाथिको कारबाही प्रक्रिया र कानून विपरित भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिएपछि रास्वापाले त्यसको प्रक्रियाका लागि अहिल स्पष्टिकरणको प्रपञ्च रचिएको ढकाल निकट सदस्यहरुको दाबी छ।

त्यस्तै बैठकले स्थानीय तहमा हुने उपनिर्वाचनमा सहभागी हुने निर्णय समेत गरेको छ।

रास्वपा चौथो दल भएकाले स्थानीय तहको उपनिर्वाचन सहभागी हुने र त्यसका लागि आवश्यक तयारी थाल्ने निर्णय भएको झाले बताए।

बैठकले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्नका लागि केन्द्रीय समितिलाई आयोजक समिति बनाउने निर्णय गर्दै राष्ट्रिय भेला अघि सातै प्रदेशमा बिशेष अभियान सञ्चालन गर्ने कार्यबाहक प्रवक्ता झाले जानकारी दिए।

बैठकले भ्रष्टाचार कसुरमा हदम्याद राख्न नहुने अडान रहेको भन्दै अन्य बिषयमा पनि सदनमा शसक्त रुपमा प्रस्तुत हुने निर्णय गरिएको झाले बताए।

बैठकले संगठन निर्माण सम्बनधी कार्यविधि संशोधन गरेको छ। बैठकमा पार्टी सभापति रवि लामिछानले पछिल्लो राजनीतिक अवस्थाका बारेमा विफ्रिङ गरेको बताइएको छ।

 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update