हिमाल दैनिक
ग्यालेक्सी टिभिका जीबीलाई नभेटेपनि रवि र छविसँग संसदीय समितिले वयान लिँदै

सहकारीको बचत हिनामिना तथा दुरुपयोगबारे छानविनका लागि गठन भएको संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेसँग सोधपुछ तथा वयान लिने भएको छ।

देशका विभिन्न सहकारी संस्थाको बचत हिनामिना गरेको आरोपमा मुछिएका लामिछानेलाई संसदीय समितिले शुक्रबार समितिको बैठकमा बोलाएर वयान लिन लागेको हो।

गोरखा मिडिया नेटवर्क प्रा.लि.का संचालक अध्यक्ष जीबी राईका अतिरिक्त प्रवन्ध निर्देशकको रुपमा क्रियाशील लामिछानेसँगै पूर्व प्रहरी अधिकृत छविलाल जोशीलाई समितिले वयानका लागि बोलाउन चाहेपनि विगत केही समयदेखि विदेशमा लुकेर बसेको आशंका गरिएका जीबीबाहेक रवि र छविलाललाई समितिले आज अपरान्ह २ बजेपछिको बैठकमा बोलाउँदैछ।

जीबी राईको समूहले पोखराको सूर्यदर्शन ऋण तथा बचत सहकारी, बुटबलको सुप्रिम, चितवनको साहारा, बीरगञ्जको सानो पाइला तथा काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको ठूलो रकम हिनामिना गरेको आरोप लागेको छ।

उल्लेखित सहकारीको बचत रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.द्वारा संचालित ग्यालेक्सी टेलिभिजन संचालन गर्ने नाममा गैरकानूनी ढंगले कर्जा प्रवाह गरी बचतकर्ताको बचत हिनामिना गरेको आरोपसहितका प्रमाणहरु प्रहरी अनुसन्धानका क्रममा भेटिएपछि लामिछाने र ओझालाई पनि वयानमा बोलाइएको हो।

रविसँग रहेका दुई विकल्पः कि सहने, कि त बुझाउँने

यसअघि गत आइतबार उक्त कम्पनीका प्रवन्ध निर्देशक तथा रास्वपा सहमहामन्त्री विपिन आचार्यसँग पनि समितिले वयान लिएको थियो।

यसरी सहकारीको रकम गैरकानूनी ढंगले आफ्नो खातामा जम्मा गर्नेमा लामिछानेले पोखराको सूर्यदर्शनबाट १ करोड तथा बुटवलको सुप्रिमबाट २ करोड रुपैयाँ लिएको देखिएपनि जीबी राईले खराब कर्जा प्रवाहमा परी संकटग्रस्त घोषित सहकारीमध्ये विरलै सहकारीको रकम लिन छुटाएका छन्।

देशभरीका विभिन्न सहकारीको रकम हिनामिना भएपछि बचतकर्ताहरुले सडकमा आवाज उठाएका थिए। त्यसको लगत्तै संसदमा तत्कालीन प्रमुख विपक्षी दल नेपाली कांग्रेस लगायतका दलहरुले सहकारीको रकम हिनामिनाबारे संसदीय छानविन समिति गठनको माग गरेपछि गत जेठ १५ गते संसदले छानविन समिति गठन गर्दै तीन महिनाको कार्यावधि दिएको थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update