हिमाल दैनिक
अस्थिरता र अराजक गतिविधिप्रति सचेत हुन सुरक्षाकर्मीलाई प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत हुन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँको काठमाडौँ महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका हुन्।

मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैब सचेत भएर काम गर्नुपर्ने उनले बताए।

वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान र कानुनबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन निर्देशन पनि दिए।

प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने उल्लेख गर्दै उनले कर्तव्यपालनमा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्न आग्रह गरे।

पछिल्लो समय पुराना राजनीतिक दल र त्यसका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न भागमा संविधान र व्यवस्था विरोधी गतिविधिहरु संचालन गर्दै श्रीलंका, बंगलादेश जस्ता मुलुकमा भएका सत्ता विद्रोहको सिको गर्न असन्तुष्ट जनतालाई उक्साउने काम भइरहेको बेला ओलीले दिएको निर्देशनलाई गम्भीर रुपमा लिन सकिन्छ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोकेर काम गर्न निर्देशन दिए।

सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजना सहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए।

नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए।

प्रहरीले साबिकको नेपाल खाद्य संस्थानसँग रु एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिद गरेर रु एक अर्ब २६ करोडको लागतमा अत्याधुनिक भवन निर्माण गरेको हो। जिल्ला परिसर काठमाडौँ २०१२ सालमा हुनमानढोकाबाट सञ्चालन भएको थियो।

 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update