हिमाल दैनिक
रास्वपाका महामन्त्री ढकालको साधारण सदस्यता समेत खोसियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको विषयमा पार्टीभित्र लिखित र बाहिर सार्वजनिक मिडियामा प्रश्न उठाएर विवादमा तानिएपछि निलम्बनमा परेका महामन्त्री मुकुल ढकाल उनको पार्टीले पार्टीबाट निष्काशन गरेको छ।

मंगलबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई सोधिएको अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय हो।

ढकाललाई सोधिएको २४ घण्टे स्पष्टीकरणका बारेमा छलफल गर्दै विधान र राजनीतिक दलसम्बन्धी नियमलाई टेकेर साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

कुनै समयमा चिकित्सा सेवाबाट राजनीतिक जीवन सुरु गर्न लामिछानेसँग मिलेर रास्वपा गठनको तयारीमा जुटेका ढकालले गत असारमा पार्टी अध्यक्षको कार्यशैली तथा उनको व्यक्तिगत चरित्रको विषयमा गम्भीर प्रश्न उठाउँदै यसबारे पार्टीले स्पष्ट पारेर जनतामा पार्टीको साख जोगाउनु पर्ने धारणा राखेका थिए।

उनले सभापति लामिछानेको विषयमा प्रश्न उठाएलगत्तै रास्वपाले ढकाललाई महामन्त्री पदबाट निलम्बन गर्दै स्पष्टिकरण माग गरेको थियो।

त्यसको बदलामा ढकालले आफ्नो धारणा सत्य र तथ्यमा आधारित भएको भन्दै माफी माग्ने तर्फ नदेखिएपछि उनलाई पार्टीबाट अनुशासनको कारबाही प्रक्रिया अघि बढाइएको थियो।

तर, पछिल्लो समय उनलाई पार्टीको साधारण सदस्यताबाटै निष्काशन गर्नेगरी २४ घण्टे स्पष्टिकरण माग गरिएपनि ढकालले आफ्नो लडाई रास्वपा बचाउन जारी रहेको भनेपछि उनलाई आज पार्टीले निष्काशनको निर्णय लिएको हो।

बैठकमा पार्टी सभापति रवि लामिछानले सहकारी छानविन समितिमा दिएको बयानका बारेमा जानकारी गराएका थिए।

समितिमा आफुले दिएको स्पष्टीकरणलाई प्रतिवेदन बनाएर पार्टीको अनुशासन आयोगमा दर्ता गराउने लामिछानले बताएको जानकारी पनि कार्यवाहक प्रवक्ता झाले दिए।

बैठकले असोज १ र २ गते काठमाडौंमा आयोजना गरिएको पार्टीको राष्ट्रिय भेलालाई सफल बनाउन बिभिन्न उपसमिति गठन गरिएको छ।

राष्ट्रिय भेलामा १४ सय सहभागी हुने रास्वपाले जनाएको छ। त्यस्तै बैठकमा स्थानीय छाया सरकार सम्बन्धी कार्यविधीका बारेमा छलफल भएको झाले बताए।

 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update