हिमाल दैनिक
कांग्रेसको भदौ १२ गतेको बैठक चार दिन पर धकेलियो

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित कार्यतालिका परिवर्तन भएको छ।

गत फागुनमा सम्पन्न महासमिति बैठकबाट प्राप्त सुझावसहितका विभिन्न प्रस्तावसहित अन्य १० विषयमा साउन २३ गतेदेखि छलफल गरी आवश्यक निर्णय लिने तयारीकासाथ तय भएको भदौ १२ गतेको बैठक चार दिन पर सरेको छ।

पार्टी मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, भदौ १२ गते अपरान्ह ३ बजेका लागि डाकिएको बैठक भदौ १६ गते आइतबार अपरान्ह २ बजे बस्नेगरी तोकिएको छ।

महासमिति बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेका विभिन्न प्रस्तावमा उल्लेखित विवादस्पद विषयकाबारेमा केन्द्रीय कार्यसमितिका सदस्यहरुले जनाएको विमतिका कारण पार्टी बैठकले उक्त प्रस्तावहरु यथास्थितिमा जस्ताको तस्तै पारित हुन नसक्ने स्थितिमा पार्टी नेतृत्वले विशेषगरी महामन्त्रीद्वयसँग प्रस्तावहरुमा परिमार्जनको प्रयास जारी राखेको छ।

यसका बाबजूद प्रस्ताव परिमार्जनको विषयमा सभापति शेरबहादुर देउवाले महामन्त्रीहरुसँग छलफल जारी राखेको अवस्थामा सहमति नभएको कारण बैठकको मिति सारिएको हो कि भन्ने प्रश्नको जवाफमा मुख्य सचिव पौडेलले यसलाई मात्रै मुख्य कारणको रुपमा नलिन आग्रह गरे।

उनले भने, ‘संसद सचिवालयले अबको केही दिन लगातार संघीय संसदको बैठक निरन्तर चलाउने तयारी गरेपछि अधिकांश पदाधिकारी र सदस्यहरु समेत संसद बैठकमा सहभागी भएर छलफलमा व्यस्त रहनु परेको कारण केन्द्रीय कार्यसमितिको बैठकको मिति चार दिन पर सारिएको हो।’

 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update