हिमाल दैनिक
भ्रष्टाचारको मुद्दामा हदम्यादको विषयले सांसद आतंकित, जनतालाई स्पष्ट पार्न सांसद केसीको माग

संसदमा विचाराधिन भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकको विषयले सांसदहरुलाई आतंकित बनाएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्नै राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले भ्रष्टचारीको विषयमा विधेयकमा रहेको भनिएको पाँच वर्षे हदम्यादको विषयका कारण नेपालभरिबाट नयाँ पीँढीका युवाहरुले लगातार फोन गरिरहेको बताए।

उनले भने, ‘राज्यले यसबारेमा स्पष्ट जवाफ देश र जनतालाई दिनु पर्यो।’

नेपालभित्रका मात्रै नभएर विदेशमा बस्नेहरुले पनि विधेयकमा राखिएको भनिएको विषयले अत्यन्त आतंकित बनाएको बताए।

उनले यसरी देशभित्र र बाहिरबाट लगातार धम्कीपूर्ण फोन आउनुको कारण सत्ता र सरकारमा बस्नेहरुले नै दिएको सन्देशका कारण जनता आतंकित भएको भन्दै यसबारे सरकारले स्पष्ट पार्न जरुरी भएको बताए।

पछिल्लो केही समययता संघीय संसदको राष्ट्रिय सभाबाट प्रतिनिधि सभाको बैठक हुँदै राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन अवस्थामा रहेको उक्त विधेयकमा राखिएका कतिपय प्रस्तावित दफाहरुको विषयमा उल्लेखित कुरालाई तोडमोड गर्दै सत्ता र प्रतिपक्षमा रहेकै सांसदहरुले दिनहुँ संसद र आमसंचारमाध्यमदेखि सामाजिक संजालमार्फत दिएको अधुरो र अपुरो अभिव्यक्तिका कारण भ्रष्टाचार निवारण ऐनको व्यवस्थाबारे जनतामा थप अन्यौलता र आक्रोस छाइरहेको छ।

जसको कारण विगत केही दिनयता देशभित्र र बाहिरबाट हरेक दलका सांसदहरुलाई जतिबेला मन लाग्यो टेलिफोन गरी धम्कीपूर्ण अभिव्यक्ति दिने क्रम बढ्दै गएको गुनासो अन्य सांसदहरुले पनि गरिरहेका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update